

राजेश निर्माणी।पौष—११
रौतहट— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट चार जना नेताको नाम सिफारिस गरेको छ। पार्टीको क्षेत्रीय तहको छलफल तथा सिफारिस प्रक्रियाबाट आदरणीय नेताहरू रामकुमार भट्टराई, युवराज भट्टराई ‘समीर’, देवेन्द्र पटेल र आशिष लामा उम्मेदवारका रूपमा अघि सारिएका हुन्।
पार्टीका अनुसार देशमा विद्यमान राजनीतिक, आर्थिक र सामाजिक असमानता अन्त्य गर्दै समावेशी लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको पक्षमा सशक्त भूमिका निर्वाह गर्न नेपाली कम्युनिस्ट पार्टीको ऐतिहासिक जिम्मेवारी अझै कायम रहेको छ। यही सन्दर्भमा अनुभव, क्षमता र पुस्तान्तरणको सन्तुलन मिलाउँदै उम्मेदवार सिफारिस गरिएको पार्टी नेताहरूको भनाइ छ।
सिफारिस भएका नेतामध्ये रामकुमार भट्टराई अनुभवी नेता हुन्। उनी पूर्व सांसद तथा संविधान सभा सदस्यका रूपमा संविधान निर्माण प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरिसकेका नेता मानिन्छन्। त्यस्तै देवेन्द्र पटेल पनि पूर्व सांसद तथा संविधान सभा सदस्य रहिसकेका छन्, जसले संसदीय अभ्यास र नीति निर्माणमा लामो अनुभव बटुलेका छन्।
युवराज भट्टराई ‘समीर’ हालका प्रदेश सांसद तथा पूर्व मन्त्री हुन्। उनी युवामैत्री नीति, विकास र संगठन विस्तारमा सक्रिय नेताका रूपमा परिचित छन्। पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दै आशिष लामा जेन्जी युवाको तर्फबाट सिफारिस भएका हुन्, जसले पार्टीमा पुस्तान्तरण, नयाँ सोच र ऊर्जाको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।
पार्टी स्रोतका अनुसार यी सिफारिसहरूले अनुभव र नवीनताको संयोजनमार्फत जनताको अपेक्षा पूरा गर्ने, समावेशी प्रतिनिधित्वलाई व्यवहारमा उतार्ने र संसदलाई जनमुखी बनाउने उद्देश्य बोकेको छ। अन्तिम निर्णय पार्टीको केन्द्रीय तहबाट हुने भए पनि स्थानीय तहको सुझावलाई उच्च प्राथमिकतामा राखिएको जनाइएको छ।
























