

राजेश निर्माणी।रौतहट, पुस १०
बाराको कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरीस्थित रामटोलमा दलित समुदायका एक परिवारमाथि भएको सामूहिक कुटपिटको घटनाले प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ । पीडित पक्षका अनुसार असोज महिनामै जिल्ला प्रहरी कार्यालय, कलैयाको पहलमा छलफल गरी टुंग्याइसकिएको छुवाछूतसम्बन्धी विवादलाई निहुँ बनाएर मंसिरमा कुनै दोष र गल्ती नहुँदै योजनाबद्ध रूपमा कुटपिट गरिएको हो ।
पीडित गुलचन महरा चमारका अनुसार २०८२ साल असोज महिनामा विजयादशमी (दुर्गा पूजा) का अवसरमा गाउँमा आयोजना गरिएको दुर्गा पूजाका क्रममा गाउँका कथित ठूला जातिका अगुवाहरूले ‘जो व्यक्ति सबैभन्दा बढी चन्दा दिन्छ, उसैले मूल पूजाको चौकामा बस्न पाउने’ नियम बनाएका थिए। उक्त नियमअनुसार आफूले मेहनत गरेर कमाएको घरमा राखिएको एक लाख रुपैयाँ चन्दा दिई चौका बस्न खोज्दा आफूहरूलाई “निच जात” र “पानी नचल्ने जात” भन्दै नौ रात्री बस्न, मूल पूजा गर्न तथा चौकामा बस्न रोक लगाउँदै बहिष्कृत गरिएको उनले बताए।
उक्त घटनाविरुद्ध दलित युवाहरूले सामाजिक सञ्जालमार्फत विरोध जनाएपछि त्ययतिखेर सो घटना व्यापक रूपमा भाइरल बनेको थियो ।त्यसपछि जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालय, कलैयामा दुवै पक्षबीच छलफल भई सबै समुदायलाई समान रूपमा धार्मिक क्रियाकलापमा सहभागी हुन नरोकिने सहमति भएको पीडित पक्षको दाबी छ । तर सो विवाद समाधान भइसकेपछि पनि त्यही घटनालाई आधार बनाएर प्रतिशोध साध्ने उद्देश्यले २०८२ मंसिर २ गते बिहान करिब ८ बजे पीडित परिवारमाथि योजनाबद्ध आक्रमण गरिएको जाहेरीमा उल्लेख छ।
पीडितका अनुसार आक्रमणका क्रममा “तिमीहरू पानी नचल्ने जात भएर पनि पूजा गर्ने हक दाबी गर्छौ”, “आज तिमीहरूलाई देखाइदिन्छौँ” जस्ता जातीय अपमानजनक शब्द प्रयोग गर्दै केही व्यक्तिहरूको समूहले कुटपिट गरेको हो । उक्त घटनामा श्यामबालक साह तेली, दिनेश साह तेली, श्यामसुन्दर साह तेली, राजेन्द्र साह तेली, गजेन्द्र साह तेली, रामप्रवेश साह, दिलिप पटेल, कृष्ण कुमार पटेल र चन्द्रन कुमार पटेल संलग्न रहेको आरोप पीडितले लगाएका छन् । उनीहरूले बाँसको लाठी, फलामको रड र मुक्काले आक्रमण गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
कुटपिटका क्रममा आरोपितहरू पीडितको घरभित्र प्रवेश गरी महिलासहित परिवारका सदस्यहरूलाई गम्भीर घाइते बनाएको र भतिजीको विवाहका लागि जोहो गरेर राखिएको नगद तीन लाख रुपैयाँ समेत लुटिएको पीडित पक्षको आरोप छ । घटनामा गुलचन महरा चमार, उनकी श्रीमती संगिता देवी, छोरा, भतिजा, भाउजू र बुहारी गम्भीर घाइते भएका छन् । घाइतेहरूको कलैया प्रादेशिक अस्पताल तथा वीरगञ्जमा सिटी स्क्यान गरी उपचार भइरहेको छ।
यति गम्भीर प्रकृतिको घटना भएको करिब एक महिना बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय, बाराले मुद्दा दर्ता गर्न आनाकानी गरिरहेको पीडित पक्षको गुनासो छ । जाहेरी, चिकित्सकीय प्रतिवेदन र भिडियो प्रमाण बुझाइसक्दा पनि मुद्दा दर्ता नहुनुले पीडित परिवार थप असुरक्षित बनेको उनीहरूको भनाइ छ ।यसैबीच, सो घटना पुनः सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बन्दै गएको छ ।
घटनाबारे राष्ट्रिय दलित आयोगमा समेत जानकारी गराइसकिएको पीडित पक्षले जनाएको छ । साथै, देशभरका दलित अगुवा, सामाजिक अभियन्ता तथा मानव अधिकारकर्मीहरूले घटनाको घोर निन्दा गर्दै संलग्न व्यक्तिहरूमाथि तत्काल मुद्दा दर्ता गरी छिटोभन्दा छिटो पक्राउ गरेर कानुनी कारबाही अघि बढाउन माग गरिरहेका छन् ।उनीहरूले कारबाही प्रक्रिया अघि नबढे देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
विश्लेषकहरूका अनुसार, असोजमै समाधान भइसकेको छुवाछूतसम्बन्धी विवादलाई आधार बनाएर मंसिरमा गरिएको हिंसा सामाजिक सद्भाव भंग गर्ने गम्भीर अपराध हो । प्रहरीको ढिलासुस्ती र निष्क्रियताले पीडितमाथि थप अन्याय भएको अनुभूति गराएको छ । दोषीहरू खुलेआम हिँडिरहँदा पीडित पक्ष न्यायका लागि भौँतारिनु कानूनको शासनमाथि नै गम्भीर प्रश्न खडा गर्ने अवस्था बनेको विश्लेषकहरूको भनाइ छ ।
पीडित पक्षले जात, धर्म र समुदायको आधारमा गरिएको हिंसा तथा ज्यान मार्ने मनसायसहितको कुटपिट घटनामा संलग्न सबैलाई तत्काल पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न र प्रहरी प्रशासनले ढिलाइ नगरी निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेका छन् ।























