

वीरगञ्ज। पर्सा जिल्लाको बहुदरामाई नगरपालिका–२, सिसियाडी गाउँमा बाटो विवादका क्रममा दलित समुदायका भागरित पासवानको घरमा आगजनी तथा कुटपिट भएको घटनामा राष्ट्रिय दलित आयोगले स्थलगत अनुगमन गरेको छ।
आयोगका अध्यक्ष देवराज विश्वकर्मा, सदस्य तथा मधेश प्रदेश संयोजक सुन्दर पुकुर्टीसहितको टोलीले घटनास्थल पुगेर पीडित परिवारसँग भेटघाट गरेको हो। अनुगमनका क्रममा टोलीले प्रमुख जिल्ला अधिकारी भोला दहाल तथा प्रहरी उपरीक्षक सुदिपराज पाठकसँग छलफल गर्दै घटनाको विस्तृत जानकारी लिएको जनाएको छ।
पीडित भागरित पासवानका अनुसार निजी नम्बरी जग्गामा बाटो दिन अस्वीकार गरेकै कारण विपक्षी समूहले पेट्रोल छर्केर उनको घरमा आगजनी गर्नुका साथै उनी र उनकी श्रीमती मिना देवीमाथि कुटपिट गरेको थियो। आगलागीबाट घरभित्र रहेको अन्न, नगद, गरगहना, लत्ताकपडा तथा घरको संरचनासमेत गरी लाखौं रुपैयाँ बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ।
अनुगमनपछि आयोगका अध्यक्ष विश्वकर्माले दलित समुदायमाथि भएको यस प्रकारको हिंसा गम्भीर र निन्दनीय रहेको बताए। दोषी जो–कोही भए पनि कानुनअनुसार कडा कारबाही हुनुपर्नेमा उनले जोड दिए। साथै पीडित परिवारको सुरक्षा, उपचार र क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न प्रशासनलाई निर्देशन दिएका छन्।
त्यसैगरी आयोगका सदस्य तथा मधेश प्रदेश संयोजक सुन्दर पुकुर्टीले घटनाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेको पुष्टि गरेको बताए। यस्ता घटनालाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै उनले प्रहरी र प्रशासनबाट निष्पक्ष र प्रभावकारी अनुसन्धान आवश्यक रहेको धारणा राखे।आयोगले घटनाको अनुगमन निरन्तर गर्ने र पीडितलाई न्याय दिलाउन सबै तहमा पहल गर्ने उनको भनाइ छ।
दलित अभियन्ता मनोज रामको पहलमा आयोगको टोली घटनास्थल पुगेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























