

राजेश निर्माणी, २७ फागुन, रौतहट।
रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) बस्तीमा दुई महिलासहित ६ जनामाथि भएको सामूहिक कुटपिट घटनामा ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरिएको छ।
पीडित बिर्जा राम चमारले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिताराम रिजालको निर्देशनपछि इलाका प्रहरी कार्यालय विजयपुर–लक्ष्मिनियामा बुधबार उक्त मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्नमध्ये पसिन्द्र यादवलाई पक्राउ गरिएको छ। अन्य आरोपीहरू भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नवीनकुमार यादव र जयप्रकाश यादव फरार रहेका छन्।
उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका पसिन्द्र यादवलाई इलाका प्रहरी कार्यालय विजयपुरको हिरासतमा राखी म्याद थप गरिएको छ। पीडित र स्थानीय बासिन्दाका अनुसार घटना भएको एक हप्ताभन्दा बढी समय बित्दासम्म मुद्दा दर्ता नभएकाले पीडित पक्षले न्याय पाउन कठिनाइ भोग्नुपरेको थियो।
अन्ततः बुधबार चमार कल्याण समाज केन्द्रीय समितिका उपाध्यक्ष पुनित राम चमार, राजेश निर्माणी, उदयनारायण राम, अवधेश राम, राम विश्वास राम, रामप्रवेश राम, ओमप्रकाश राम, धर्मेन्द्र राम लगायत दर्जनौँ दलित अधिकारकर्मीहरूको सक्रिय पहल र दबाबपछि मुद्दा दर्ता भएको बताइएको छ।
यस घटनाविरुद्ध स्थानीय तथा राष्ट्रिय स्तरका सञ्चारमाध्यम र पत्रकारहरूले समेत आवाज उठाएका छन्। घटनाले दलित समुदायमाथि हुने हिंसाको विषयलाई पुनः सार्वजनिक बहसको केन्द्रमा ल्याएको स्थानीयहरूको भनाइ छ।
यद्यपि, स्थानीय बासिन्दाले सुरुदेखि नै प्रहरीले निष्पक्ष रूपमा अनुसन्धान नगरेको आरोप लगाएका छन्। इलाका प्रहरी कार्यालय विजयपुरका इन्स्पेक्टर सुरेन्द्र यादवको भूमिकामाथि प्रश्न उठाउँदै उनी जातीय प्रभावमा परेर पीडितलाई न्याय दिन ढिलाइ गरेको आरोपसमेत लगाइएको छ।
पीडित पक्षका अनुसार फागुन १९ गते होली पर्वको पूर्वसन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि उक्त घटना भएको थियो। घटनापछि पनि करिब एक सातासम्म कुनै कारबाही नभएपछि पीडितहरूले मंगलबार पत्रकार सम्मेलन गर्दै घटनाबारे सार्वजनिक रूपमा जानकारी गराएका थिए।
पत्रकार सम्मेलनमा बिर्जा राम चमारले सामान्य विवादपछि स्थानीय भुनेश्वर यादवसहितको समूह लाठी–भाटा लिएर साँझ करिब ६ बजेतिर घरमै प्रवेश गरी कुटपिट गरेको बताएका थिए। उनका अनुसार आक्रमणकारीहरूले घरभित्र रहेका श्रीमती, छोरीसहित ६ जनामाथि निर्घात कुटपिट गर्नुका साथै घरका सामान तोडफोड गरेका थिए। घरमा रहेका दुईवटा मोबाइल समेत फुटाइएको उनले बताए।
कुटपिटबाट बिर्जा राम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी श्रीमती गायत्री देवी रामको शरीरभरि निलडाम परेको छ। उनका छोरा राजकुमार रामको टाउकोमा तीन टाँका लागेको छ भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेर सात टाँका लगाइएको बताइएको छ। त्यस्तै ललन राम चमारको अनुहार र शरीरमा चोट लागेको छ भने नरेश राम चमारको टाउको र आँखामा चोट लागेको पीडित पक्षले जनाएको छ।
पीडितका अनुसार घटनाभन्दा करिब एक घण्टा अघि दुई पक्षबीच सामान्य भनाभन भएको थियो। त्यसक्रममा विपक्षी समूहले राजकुमार रामलाई घरभन्दा केही टाढा कुटपिट गरेको र प्रतिवादका क्रममा विपक्षी पक्षका एकजनाको टाउको सामान्य रूपमा फुटेको बताइएको छ। त्यसको केही समयपछि सो समूह लाठी–भाटा लिएर घरमै प्रवेश गरी सामूहिक आक्रमण गरेको बिर्जा राम चमारको भनाइ छ।
घटनापछि पुगेको प्रहरी टोलीले आक्रमणकारीलाई नियन्त्रणमा लिनुको सट्टा आफू र आफ्नै छोरालाई पक्राउ गरी हथकडी लगाएर लगेकाे पीडितले आरोप लगाएका छन्। उनीहरूलाई केही समय थुनामा राखेर कुटपिटसमेत गरिएको र पछि इलाका प्रहरी कार्यालय विजयपुर पठाइएको दाबी गरिएको छ।
स्थानीय समाजसेवी तथा फतुवा विजयपुरका मेयर प्रत्याशी विजय यादवका अनुसार पीडितलाई पक्राउ गरिएको जानकारी पाएपछि उनले इन्स्पेक्टर सुरेन्द्र यादवलाई फोन गरेर छोड्न आग्रह गरेका थिए। “तर उहाँले कुरा नसुनेपछि मैले जिल्ला प्रहरी प्रमुखलाई सम्पर्क गरेँ, त्यसपछि मात्रै बिर्जा राम र उनका छोरालाई छोडिएको हो,” उनले बताए।
पीडित पक्षका अनुसार घटनाको करिब एक सातासम्म पनि जाहेरी दर्ता गरिएको थिएन। आइतबार र सोमबार इलाका प्रहरी कार्यालय विजयपुर पुगेर उजुरी दर्ता गर्न आग्रह गर्दा पनि बेवास्ता गरिएको र उल्टै धम्की दिइएको आरोप लगाइएको छ। पत्रकार सम्मेलनका क्रममा बिर्जा राम चमारले भावुक हुँदै आफूलाई न्याय दिलाइदिन आग्रह गरेका थिए।
उता इन्स्पेक्टर सुरेन्द्र यादवले भने विपक्षी पक्षका एकजनाको टाउको फुटेको र निर्वाचनको संवेदनशील अवस्था भएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको बताएका छन्। पछि बिर्जा रामको परिवारका सदस्यहरू पनि घाइते भएको जानकारी पाएपछि सोही रात जिम्मा–जमानिमा बाबु–छोरालाई रिहा गरिएको उनको भनाइ छ।
स्थानीयवासीका अनुसार इन्स्पेक्टर यादव इलाका प्रहरी कार्यालय विजयपुरमा सरुवा भएर आएपछि क्षेत्रमा अराजक गतिविधि बढेको आरोप लगाइएको छ। केही समयअघि पनि उनको मिलेमतोमा विजयपुर क्षेत्रभित्र ठूलो रकमको कौडा जुवा खेलाइएको भन्ने आरोप लागेको थियो। स्थानीयको विरोधपछि सो गतिविधि रोकिएको बताइन्छ।
स्थानीय बासिन्दाहरूले साना घटनालाई ठूलो बनाउने र विभिन्न प्रभाव तथा आर्थिक चलखेलका कारण दलित समुदायसहित धेरै सर्वसाधारणले न्याय नपाएको गुनासो गर्दै आएका छन्।























