{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

चैत २— राजेश निर्माणी
रौतहट/ जिल्लाको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरमा दलित समुदायमाथि भएको सामूहिक कुटपिट घटनाको छानबिन गर्न राष्ट्रिय दलित आयोगको एक टोली घटनास्थल पुगेको छ। आयोगले उक्त घटनालाई गम्भीर मानवअधिकार उल्लंघनका रूपमा लिँदै पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी प्रारम्भिक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

आयोगका सदस्य सुन्दर पुर्कुटीको नेतृत्वमा आएको टोलीले सोमबार सन्तपुर पुगेर पीडित तथा आरोपित पक्षसँग छुट्टाछुट्टै छलफल गर्दै घटनाबारे विस्तृत जानकारी संकलन गरेको छ। टोलीले घटनाको पृष्ठभूमि, पीडितहरूको स्वास्थ्य अवस्था, स्थानीय सुरक्षाको स्थिति तथा सरोकारवालासँग छलफल गरी आवश्यक तथ्य तथा प्रमाणहरू संकलन गरेको जनाएको छ।

पीडित पक्षका अनुसार गत फागुन १९ गते होली पर्वको पूर्वसन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि उक्त घटना भएको हो। घटनाबारे जानकारी दिँदै पीडित बिर्जा राम चमारले सामान्य विवादपछि स्थानीय भुनेश्वर यादव र पसिन्द्र यादवको नेतृत्वमा आएको समूहले साँझ करिब ६ बजे लाठी–भाटा लिएर घरमै प्रवेश गरी निर्घात कुटपिट गरेको बताए।

उनका अनुसार उक्त समूहले घरभित्र रहेका श्रीमती, छोरीसहित परिवारका ६ जनामाथि कुटपिट गर्नुका साथै घरका सामानहरू समेत तोडफोड गरेको थियो। घरमा रहेका दुईवटा मोबाइल फोन समेत फुटाइएको उनले जानकारी दिए।

कुटपिटका कारण बिर्जा राम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी श्रीमती गायत्री देवी रामको शरीरका विभिन्न भागमा निलडाम देखिएको छ। त्यसैगरी उनका छोरा राजकुमार रामको टाउकोमा तीन टाँका लागेको छ भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेर सात टाँका लगाइएको छ। त्यस्तै ललन राम चमारको अनुहार तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको छ भने नरेश राम चमारको टाउको र आँखामा चोट लागेको पीडित परिवारले जनाएको छ।

पीडित बिर्जा राम चमारले दिएको उजुरीका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिताराम रिजालको निर्देशनमा इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियामा बुधबार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा पसिन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ। अन्य आरोपितहरू भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नविन कुमार यादव र जयप्रकाश यादव भने हाल फरार रहेका छन् र उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

पीडित परिवारका अनुसार हालसम्म पनि मुद्दा मिलापत्र गराउन दबाब दिँदै डर–त्रास र धाक–धम्की आउने क्रम जारी रहेको छ।पीडित परिवारसँग कुराकानी गर्दै आयोगका सदस्य सुन्दर पुर्कुटीले जातीय आधारमा हुने हिंसा कानुनविपरीत गम्भीर अपराध भएको उल्लेख गर्दै यस्ता घटनाप्रति राज्य अत्यन्त संवेदनशील हुनुपर्ने बताए।

उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने तथा पीडितलाई न्याय दिलाउन आयोगले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

घटनास्थल अवलोकनका क्रममा पूर्वमन्त्री विश्वेन्द्र पासवान, फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी विजय यादव (निर्बिज), दलित अधिकारकर्मी राजेश पासवान (निर्माणी), उदय नारायण राम, अवध नारायण राम, सुब्बा साहेब हजारी, इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख सुरेन्द्र यादव, सशस्त्र प्रहरीका प्रतिनिधि तथा विभिन्न दलित अधिकार अभियन्ता र स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

आयोगको टोलीले यसै क्रममा स्थानीय जनप्रतिनिधिहरूसँग समेत भेटघाट गरी घटनाको अवस्था, समुदायमा देखिएको तनाव तथा शान्ति–सुरक्षाको समग्र अवस्थाबारे जानकारी लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0