

राजेश निर्माणी/रौतहट–२७ फागुन।
रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) बस्तीमा भएको कुटपिट घटनामा दुई महिलासहित ६ जना घाइते भएका छन्। घटनामा संलग्न व्यक्तिमाथि कारबाही हुनुपर्ने माग उठिरहे पनि प्रहरीको व्यवहारप्रति पीडित पक्षले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।
पीडित पक्षका अनुसार सामान्य विवादबाट सुरु भएको झडप पछि स्थानीय केही व्यक्तिहरूको समूहले घरमै प्रवेश गरेर लाठी–भाटाले आक्रमण गरेको थियो। सो आक्रमणमा बिर्जा राम चमारको परिवारका सदस्यहरू र अन्य व्यक्तिहरू घाइते भएका छन्।
यो घटना फागुन १९ गते साँझ करिब ६ बजेतिर, होली पर्वको पूर्वसन्ध्या र प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि भएको बताइएको छ। पीडितले घटनाबारे प्रहरीबाट कुनै कारबाही नभएको भन्दै एक सातापछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन्।
पीडित बिर्जा राम चमारले पत्रकार सम्मेलनमा आफूहरूको घरमा जबरजस्ती पसेर कुटपिट गरिएको आरोप लगाएका छन्। उनका अनुसार आक्रमणकारीहरूले घरभित्रै पसेर श्रीमती, छोरीसहित ६ जनामाथि कुटपिट गर्नुका साथै घरभित्रका सामानसमेत तोडफोड गरेका थिए। घटनाका क्रममा घरमा रहेका दुईवटा मोबाइलसमेत फोडिएको उनले बताए।
कुटपिटका कारण बिर्जा राम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी श्रीमती गायत्री देवी रामको शरीरका विभिन्न भागमा निलडाम देखिएको छ। उनका छोरा राजकुमार रामको टाउकोमा टाँका लगाउनु परेको छ। त्यस्तै सुब्बा रामकी १६ वर्षीया छोरीको टाउकोमा समेत गम्भीर चोट लागेर टाँका लगाइएको पीडित पक्षले जनाएको छ। ललन राम चमार र नरेश राम चमार पनि कुटपिटबाट घाइते भएका छन्।
पीडितका अनुसार घटना हुनु अघि साँझ करिब ५ बजेतिर दुई पक्षबीच सामान्य भनाभन भएको थियो। त्यस क्रममा विपक्षी समूहले राजकुमार रामलाई घरभन्दा केही टाढा कुटपिट गरेको र प्रतिकार गर्दा विपक्षी पक्षका एकजनाको टाउको सामान्य रूपमा फुटेको बताइएको छ। त्यसको करिब एक घण्टापछि ठूलो समूह लाठी–भाटा लिएर घरमै प्रवेश गरी सामूहिक आक्रमण गरेको पीडितको दाबी छ।
घटनापछि घटनास्थल पुगेको प्रहरी टोलीले आक्रमणकारीलाई नियन्त्रणमा लिनुको सट्टा आफू र आफ्ना छोरालाई नै पक्राउ गरेको बिर्जा रामको आरोप छ। उनका अनुसार प्रहरीले उनीहरूलाई हथकडी लगाएर लगेको र पछि इलाका प्रहरी कार्यालय विजयपुरमा लगेर राखिएको थियो।
स्थानीय समाजसेवी विजय यादवका अनुसार पीडितलाई पक्राउ गरिएको खबर पाएपछि उनले जिल्ला प्रहरी कार्यालय रौतहट का प्रमुख सिताराम रिजाल लाई जानकारी गराएका थिए। त्यसपछि मात्र बिर्जा राम र उनका छोरालाई जिम्मा–जमानिमा रिहा गरिएको उनले बताएका छन्।
पीडित पक्षले घटनाको एक सातासम्म पनि जाहेरी दर्ता नभएको गुनासो गरेको छ। उनीहरूका अनुसार इलाका प्रहरी कार्यालय विजयपुरमा पटक–पटक जाँदा पनि जाहेरी दर्ता गर्न बेवास्ता गरिएको र उल्टै धम्की दिने प्रयास गरिएको आरोप लगाइएको छ।
पत्रकार सम्मेलनका क्रममा बिर्जा राम चमारले भावुक हुँदै आफूहरूलाई न्याय दिलाइदिन सञ्चारकर्मी र सम्बन्धित निकायसँग आग्रह गरेका छन्। यता इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादव ले भने प्रारम्भिक झडपका क्रममा विपक्षी पक्षका एकजनाको टाउको फुटेको र निर्वाचनको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै केही व्यक्तिलाई नियन्त्रणमा लिइएको बताएका छन्। पछि बिर्जा रामको परिवारका सदस्यहरू पनि घाइते भएको जानकारी पाएपछि सोही रात उनीहरूलाई जिम्मा–जमानिमा छाडिएको उनले बताए।
उनले निर्वाचनको कारणले केही प्रक्रियामा ढिलाइ भएको स्वीकार गर्दै घटनाबारे थप छानबिन भइरहेको र दोषीमाथि आवश्यक कानुनी कारबाही गरिने बताएका छन्।
यता सिताराम रिजाल ले घटनाबारे निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिइसकेको बताउँदै पीडितलाई न्याय दिलाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच स्थानीय बासिन्दाहरूले इन्स्पेक्टर सुरेन्द्र यादव विजयपुरमा प्रमुखको रूपमा आएपछि क्षेत्रमा विभिन्न किसिमका विवाद र अराजक गतिविधि बढेको गुनासो गर्दै आएका छन्।
केही समयअघि उनको कार्यकालमा थानाक्षेत्रभित्र जुवा खेलाइने गतिविधि भएको र स्थानीयको विरोधपछि मात्रै रोकिएको आरोपसमेत स्थानीयहरूले लगाएका छन्। साथै साना घटनालाई ठूलो बनाइ आर्थिक चलखेल र राजनीतिक प्रभावका कारण दलित परिवारलगायत धेरैलाई न्यायबाट वञ्चित गरिएको गुनासो पनि उनीहरूले गर्दै आएका छन्।























