
राजेश निर्माणी / रौतहट माघ ५
रौतहट— चमार कल्याण समाज नेपाल केन्द्रीय समितिको आयोजनामा सन्त गुरु रविदासको जन्मजयन्ती मनाउने सम्बन्धमा आयोजित बैठक सफलतापूर्वक सम्पन्न भएको छ।
सोमबार रौतहटको गुजरा नगरपालिका वडा नं. ८ स्थित केवल राम सुरत क्याम्पसको प्राङ्गणमा बसेको बैठकले आगामी माघ १८ गते गुजरा नगरपालिका वडा नं. ९ सिमरा भवानीपुरस्थित बजार प्राङ्गणमा सन्त गुरु रविदासको जन्मजयन्ती भव्य रूपमा मनाउने सर्वसम्मत निर्णय गरेको हो।
केन्द्रीय समितिका उपाध्यक्ष पुनित राम चमारको अध्यक्षतामा सम्पन्न बैठकमा रौतहट जिल्लाभरिका चमार समुदायका अगुवा, जनप्रतिनिधि, नेता–अभियन्ता, महिला नेतृ, विभिन्न संघ–संस्थामा आवद्ध पदाधिकारी, बुद्धिजीवी, शिक्षक, कर्मचारी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकमा सहभागी वक्ताहरूले सामाजिक एकता, सांस्कृतिक पहिचान र समान अधिकारको पक्षमा सन्त गुरु रविदासका सिद्धान्त र शिक्षालाई अझ व्यापक रूपमा जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले जातीय विभेदको अन्त्य र समावेशी समाज निर्माणका लागि गुरु रविदासको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।
सहभागीहरूका अनुसार चमार समुदाय नेपालका दलित समुदायभित्र एक विशिष्ट र ठूलो समूहका रूपमा रहेको छ। २०२१ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा चमार/हरिजन/राम जातिको कुल जनसंख्या करिब ३ लाख ३५ हजार ८ सय ९३ रहेको छ, जुन कुल जनसंख्याको करिब १.२७ प्रतिशत हो।
मधेश प्रदेशमा चमार समुदायको जनसंख्या तुलनात्मक रूपमा बढी रहेको देखिन्छ। तथ्याङ्कअनुसार मधेश प्रदेशको कुल जनसंख्यामा चमार समुदायको हिस्सा करिब ४.४ प्रतिशत रहेको छ, जसले मधेशका विभिन्न जिल्लामा चमार समुदायको सामाजिक र सांस्कृतिक उपस्थिति उल्लेखनीय रहेको देखाउँछ। यद्यपि सामाजिक संरचनाभित्र उनीहरूलाई ऐतिहासिक रूपमा चमारजातिलाई तल्लो वर्गको रूपमा वर्गीकृत गरिएको र सामाजिक विभेद तथा असमानताको सामना गर्दै आएको यथार्थ अझै कायम रहेको सहभागीहरूले औंल्याएका छन्।
नेपालमा चमार जातिको कुल जनसंख्या उल्लेखनीय रहे पनि राजनीतिक, प्रशासनिक तथा राज्यका विभिन्न निकायमा उनीहरूको प्रतिनिधित्व अझै पर्याप्त हुन नसकेको धारणा बैठकमा व्यक्त गरिएको थियो। पछिल्ला वर्षहरूमा चमार जातिको सहभागिता क्रमशः बढ्दै गए पनि समान अवसर र सामाजिक न्यायका सवालहरू अझै समाधानको प्रतीक्षामा रहेको उनीहरूको निष्कर्ष थियो।
सन्त गुरु रविदास भक्ति आन्दोलनका एक महान सन्त, कवि तथा समाजसुधारक थिए। १५औँ शताब्दीमा उत्तर भारतमा जन्मिएका रविदासले जाति–प्रथा, छुवाछुत र सामाजिक विभेदको विरोध गर्दै मानव समानता, प्रेम, भाईचारा र आध्यात्मिकताको सन्देश प्रवाह गरेका थिए। उनका भक्ति पद तथा उपदेशहरू गुरु ग्रन्थ साहिब लगायतका धार्मिक ग्रन्थहरूमा समावेश छन्, जसलाई आज पनि लाखौँ अनुयायीहरूले श्रद्धापूर्वक स्मरण गर्छन्।
हिन्दू पञ्चाङ्गअनुसार माघ पूर्णिमाका दिन मनाइने गुरु रविदास जन्मजयन्ती सामाजिक समानता र मानव अधिकारको सन्देश फैलाउने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ। यस अवसरमा पूजा–अर्चना, भजन–कीर्तन, प्रवचन तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छन्।
बैठकले तय गरेअनुसार सिमरा भवानीपुर बजार प्राङ्गणमा आयोजना हुने गुरु रविदास जन्मजयन्ती कार्यक्रममा स्थानीय समुदाय, विद्यार्थी, महिला, सामाजिक अगुवा तथा विभिन्न दलित समुदायको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ। चमार समुदायका अगुवाहरूले यस आयोजनालाई सांस्कृतिक चेतना अभिवृद्धि, सामाजिक एकता र समान अधिकारको आवाजलाई सशक्त बनाउने माध्यमका रूपमा लिएका छन्।
























