
रौतहट—शनिवार विहान करिब ६ बजे कटहरिया नगरपालिका–९ डुमरियास्थित ज्योति डिस्टिलरीमा बोइलर विस्फोट भएको छ। विस्फोटमा कटहरिया–८ बलुवा निवासी लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको छ भने सात जना श्रमिक घाइते भएका छन्।
घाइतेहरूमा ४५ वर्षका रहमोद आलम, ३५ वर्षका प्रमजित यादव, ५१ वर्षका जगदिश यादव (हातखुट्टा जलेको), ५५ वर्षका बिगन यादव (हातखुट्टा जलेको), ४० वर्षका कैलाश माली र ४० वर्षका मुकेश यादव (हातखुट्टा जलेको) रहेका छन्। सबैको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनास्थलका कर्मचारीका अनुसार विस्फोट अत्यन्त जोरिलो र अचानक भएको थियो। यसपछि कर्मचारीहरू भयभीत भए र केही घाइतेहरू भग्नावशेषमा अलपत्र परेका थिए।मृतक लक्ष्मण यादव लामो समयदेखि डिस्टिलरीमा कार्यरत थिए।
घाइतेहरूलाई तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ। स्थानीय प्रशासन र सञ्चालकको संयुक्त पहलमा पीडितहरूलाई आवश्यक उपचार र क्षतिपूर्ति यथाशीघ्र उपलब्ध गराउने प्रयास भइरहेको छ।
सुरक्षा निकायहरूले विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन्। स्थानीय प्रशासन, श्रमिक संघ र सञ्चालकबीच समन्वय गर्दै घाइते र पीडित परिवारलाई आवश्यक सहायता पुर्याउने काम भइरहेको छ।
























