

राजेश निर्माणी/रौतहट, मंसिर २७
रौतहटको वृन्दावन नगरपालिका–८ मा सञ्चालित कुन्ती इट्टा उद्योगमा आजदेखि इट्टा पोल्ने कार्य सुरु गरिएको छ । प्रहरी प्रशासनले इट्टा पोल्ने काम तत्काल सुरु नगर्न निर्देशन दिएपछि उद्योगमा कार्यरत श्रमिकहरू प्रतिकारमा उत्रिएका छन् ।
इट्टा उद्योग आफ्नो रोजीरोटीको मुख्य आधार भएको बताउँदै कामदारहरूले उद्योग सञ्चालनमा अवरोध नगर्न माग गरेका छन् । उनीहरूका अनुसार इट्टा व्यवसायी संघ र प्रहरी प्रशासनको समन्वयमा इट्टा पोल्ने कार्यमा रोक लगाउने प्रयास भएपछि श्रमिकहरू आक्रोशित बनेका हुन् ।
उद्योगमा कार्यरत श्रमिक सबिर अन्सारीले भने, “मेरो परिवारको सम्पूर्ण जीविकोपार्जन यही इट्टा उद्योगमा निर्भर छ । यहाँबाट प्राप्त आम्दानीले घरखर्च चल्छ । यदि उद्योग सञ्चालन हुन दिएन भने तलब कहाँबाट पाउने ? परिवार कसरी पाल्ने ? प्रहरी र संघ मिलेर हामीमाथि दमन गर्न खोजिएको छ । यदि उद्योग चल्न दिइएन भने हामी संघर्ष गर्न बाध्य हुनेछौं ।”
कामदारहरूका अनुसार हाल आर्थिक मन्दीका कारण रोजगारीको अवस्था निकै कमजोर छ । इट्टा उद्योग सञ्चालनमा आए सयौँ श्रमिकले प्रत्यक्ष रोजगारी पाउने उनीहरूको दाबी छ । सरकारले इट्टा पोल्ने निश्चित समयसीमा तोकेको भए पनि मौसम प्रतिकूल भई वर्षा भए उद्योगीहरूले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् ।
श्रमिकहरूको गुनासो छ कि यस्तो क्षतिका बेला न त राज्यबाट कुनै किसिमको क्षतिपूर्ति पाइन्छ, न त वैकल्पिक रोजगारीको व्यवस्था नै गरिन्छ । त्यसैले उद्योग सञ्चालनमा रोक लगाउनु श्रमिकमाथि प्रत्यक्ष अन्याय भएको उनीहरूको भनाइ छ ।
उता, इट्टा उद्योग सञ्चालकहरूले पनि वातावरणीय मापदण्ड पालना गर्न आफूहरू तयार रहेको बताउँदै अनावश्यक अवरोध नगर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन् । उनीहरूले उद्योग बन्द हुँदा श्रमिक मात्र होइन, स्थानीय अर्थतन्त्रसमेत प्रभावित हुने भन्दै समस्या समाधानका लागि संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।
स्थानीयवासीहरूले समेत इट्टा उद्योग सञ्चालनले गाउँमा रोजगारी सिर्जना, आर्थिक चलायमानता र सामाजिक स्थायित्वमा योगदान पुग्ने भएकाले श्रमिक र प्रशासनबीच सहमतिको वातावरण बनाउन माग गरेका छन् ।























