राजेश निर्माणी/ मंसिर२१

रौतहटको चन्द्रपुर नगरपालिका–६ मोतियाही पुल नजिक शुक्रबार भएको भीषण सडक दुर्घटनापछि न्यायको माग गर्दै सडकमा उत्रिएका मृतकका आफन्त तथा स्थानीयवासीमाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको पिडित परिवारले  आरोप लगाएका छन्। शान्तिपूर्ण रूपमा बसेका प्रदर्शनकारीमाथि लाठीचार्ज गराएको भन्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रुपा लाबुङ्ग नेपाली कांग्रेस तथा अन्य दलहरूको राजनीतिक दबाबमा परेर आन्दोलन हटाउने आदेश दिएकी हुन् भन्ने पीडित पक्षको दाबी छ।

उक्त दुर्घटनामा वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको घटनास्थलमै मृत्यु भएको थियो। ना ३९ प ४२४० नम्बरको मोटरसाइकलमा सवार पटेललाई ना ४ ख ६५४७ नम्बरको तीव्र गतिमा आइरहेको बसले एकाएक ठक्कर दिँदा उनी घटनास्थलमै ज्यान गुमाउनु परेको थियो। साथमा रहेका उनका दुई छोरा र एक छोरी हाल विभिन्न मेडिकल संस्थामा उपचाररत छन्।

मृतकका परिवारजन तथा स्थानीयवासीले दोषी चालकमाथि कारबाही, पीडित परिवारलाई न्यायपूर्ण क्षतिपूर्ति तथा निष्पक्ष छानबिनको माग राख्दै चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै चक्काजाम गरेका थिए। उनीहरूले शान्तिपूर्ण रूपमा विरोध गरिरहेका बेला प्रहरीले राजनीतिक निर्देशनअनुसार बल प्रयोग गरी भीड हटाउने प्रयास गरेको मृतकका दाजु दिपेन्द्र पटेलले आरोप लगाए। उनका अनुसार डिएसपी लाबुङ्ग घटनास्थलमै उपस्थित भई ‘राजनीतिक दबाब’ का कारण लाठीचार्ज गर्न निर्देशन दिएकी थिइन्, जसका कारण धेरैजना घाइते भएका छन्।

पीडित परिवारले शव व्यवस्थापनमा समेत प्रहरीको व्यवहार अस्वीकार्य रहेको गुनासो गरेका छन्। परिवारका सदस्यहरूका अनुसार उनीहरूको सहमति बिना नै शव जबर्जस्ती पोष्टमार्टमका लागि लगिएको थियो । अझै शव कहाँ राखिएको छ भन्नेबारे स्पष्ट जानकारी नदिइएको भन्दै उनीहरूले प्रहरी प्रशासनप्रति अविश्वास झनै बढेको बताए।

बढ्दो आक्रोशबीच मृतकका आफन्त तथा स्थानीयवासीले समयमै न्याय नदिए आन्दोलनलाई थप कडा रूप दिने चेतावनी दिएका छन्। नागरिक समाज, स्थानीय जनप्रतिनिधि तथा मानवअधिकारकर्मीहरूले घटनामा निष्पक्ष छानबिन, प्रहरीद्वारा प्रयोग गरिएको बलको स्पष्टिकरण तथा पीडित परिवारको न्यायिक प्रक्रियालाई प्राथमिकतामा राख्दै अघि बढाउन सम्बद्ध निकायलाई दवाव दिँदै आएका छन्।

मंसिर १९ गते शुक्रवार चन्द्रनिगाहपुर–गौर सडकखण्डको मोतियाही पुलनजिक मोटरसाइकल र बस एक-अर्कामा ठोक्किँदा नागेन्द्र पटेलको मृत्यु भएको थियो। सोही दुर्घटनामा उनका तीन सन्तान घाइते भएका थिए। दुर्घटनापछि आक्रोशित आफन्त तथा स्थानीयवासीले राजमार्ग अबरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार भिड नियन्त्रण गर्न केही प्रक्रिया अपनाएको,घटनाको विस्तृत अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0