

राजेश निर्माणी, रौतहट, मंसिर २७ —
रौतहट जिल्लाको मध्यभाग सुकदेव चोकमा अवस्थित डा. मधुरेन्द्र यादवद्वारा सञ्चालित नेपाल तराई सिटी हस्पिटलले अत्याधुनिक स्वास्थ्य प्रविधि भित्र्याउँदै स्थानीय नागरिकका लागि किफायती र गुणस्तरीय उपचार सेवा विस्तार गरेको छ। हस्पिटलले पुस १ गतेदेखि माघ १ गतेसम्म विशेष शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ, जसले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने बिरामीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
अस्पताल प्रशासनका अनुसार उक्त aअवधिमा पाठेघर (बचेदानी) को शल्यक्रिया रु. २० हजार, एपेन्डिक्स रु. १८ हजार, हर्निया रु. २० हजार, हाइड्रोसिल रु. १५ हजार, बावसीर तथा भगन्दर रु. १५ हजार र सिजेरियन (पेट चिरेर बच्चा निकाल्ने) शल्यक्रिया रु. ३० हजारमा उपलब्ध गराइनेछ। निजी हस्पिटलहरूमा महँगो मानिने यस्ता शल्यक्रियाहरू न्यून शुल्कमा उपलब्ध गराइँदा स्थानीय बासिन्दा मात्र होइन, छिमेकी पालिकाका बिरामीसमेत लाभान्वित हुने अस्पतालको विश्वास छ।
यसअघि हस्पिटलले अत्याधुनिक सी–आर्म मेसिन जडान गरी औपचारिक रूपमा सेवा सुरु गरिसकेको छ। रियल–टाइम एक्स–रे सुविधायुक्त उक्त प्रविधिले हड्डी–जोर्नी उपचार, जटिल शल्यक्रिया तथा ट्रमा केयरमा उपचारलाई अझ सुरक्षित, छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। शल्यक्रियाका क्रममा तत्काल अवस्था हेरेर सही निर्णय लिन सहयोग पुर्याउने यो प्रविधि उपचारको गुणस्तर बढाउने महत्वपूर्ण उपकरण मानिन्छ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै हस्पिटलका सञ्चालक डा. मधुरेन्द्र यादवले आधुनिक, विश्वसनीय र सुलभ स्वास्थ्य सेवा स्थानीय समुदायको पहुँचमा पुर्याउनु हस्पिटलको प्रमुख लक्ष्य रहेको बताए। अनुभवी चिकित्सक टोली, आधुनिक अपरेसन थिएटर, डिजिटल तथा भिडियो एक्स–रे, सुरक्षित उपचार प्रणाली र चौबीसै घण्टा आपतकालीन सेवामार्फत हस्पिटलले नागरिकको विश्वास जित्दै आएको उनको भनाइ छ।
गरिब, असहाय तथा विपन्न बिरामीलाई विशेष प्राथमिकतामा राख्दै सेवा दिँदै आएको नेपाल तराई सिटी हस्पिटलले आगामी दिनमा थप विशेषज्ञ सेवा, नयाँ स्वास्थ्य प्रविधि तथा सुविधा विस्तार गर्दै जाने प्रतिबद्धता पनि जनाएको छ। सीमित समयका लागि लागू गरिएको यस विशेष शल्यक्रिया सेवाको लाभ लिन इच्छुक बिरामी तथा अभिभावकलाई समयमै हस्पिटलमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।























