
आरके श्रीवास्तव, रौतहट, कार्तिक ५ गते।
रौतहटको फतुवा बिजयपुर नगरपालिका–४, टेंग्राहामा तीनदिने बृहत् सरसफाइ तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। कर्मचारी समाजको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा स्थानीय कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको संयोजन लेखा अधिकृत सुबोध कुमार यादवले गर्नुभएको थियो भने सह–संयोजकको रूपमा धर्मेश जयसवाल, अनिल कुमार यादव, सुधीर यादव, प्रमोद यादव, उमेश यादव, गणेश यादव, बालकुमार यादव, दीपक यादव, नरेन्द्र यादव, जयप्रकाश शर्मा, सैलेन्द्र जयसवाल, रञ्जित यादव, सञ्जय यादव र रञ्जय यादवको उल्लेखनीय योगदान रहेको थियो।
माध्यमिक विद्यालय टेंग्राहाका प्रधानाध्यापक अनिल कुमार यादवले पनि आफ्नो तर्फबाट उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो।
मुख्य संयोजक लेखा अधिकृत सुबोध कुमार यादवका अनुसार, “समुदायमै सरसफाइ र स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। कर्मचारी समाजको सहभागिताले यसलाई सार्थक बनाएको छ,” भन्नुभयो।

सार्वजनिक सरसफाइ, जनचेतना अभिवृद्धि तथा सामुदायिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा वडा नं. ४ को वडा कार्यालय र स्थानीय स्वास्थ्य चौकी क्षेत्रलाई प्राथमिकता दिइएको थियो। कार्यक्रममा सरसफाइ, फोहोर व्यवस्थापन, जनचेतना अभिवृद्धि र स्वास्थ्यसम्बन्धी विविध सन्देशहरू प्रचार गरिएको थियो।
कार्यक्रमका क्रममा घरअगाडि जथाभावी फोहोर फाल्नेहरूलाई पाँच हजारदेखि सात हजार रुपैयाँसम्म जरिवाना गरिने चेतावनी समेत दिइएको थियो।
स्थानीय बासिन्दा, विद्यालयका विद्यार्थी र कर्मचारीहरूको उत्साहजनक सहभागितासहित सम्पन्न उक्त कार्यक्रमले सरसफाइप्रति जनचेतना अभिवृद्धिमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेपछि संयोजक सुबोध कुमार यादवले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्ता सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।























