बारा, कार्तिक ५ गते।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनल सिमरा नेवा: खलद्वारा नेपाल संवत् ११४६ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम र राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ।

कार्यक्रममा मुख्यमन्त्री सोनलले नेपाली समाज विभिन्न जात, धर्म र संस्कृतिले सजिएको सुन्दर फूलबारी भएको उल्लेख गर्दै, यस्तो विविधतायुक्त समाजको समुन्नति र समृद्धिका लागि सबैको सामूहिक तथा इमानदार प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले सामाजिक समरसता, सहकार्य र साझा उद्देश्यप्रति प्रतिबद्ध रहँदै सशक्त र समृद्ध राष्ट्र निर्माणमा एकजुट भएर लाग्न सबैलाई आह्वान गर्नुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, नागरिक समाजका अगुवा र विभिन्न समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले मुख्यमन्त्री सोनललाई बधाई ज्ञापन गर्दै आगामी कार्यकालमा प्रदेशमा विकास, सुशासन र जनउत्तरदायी प्रशासन स्थापना हुने अपेक्षा व्यक्त गरेका थिए।

समाप्तिमा, जितपुरसिमरा नगरवासीहरूले मुख्यमन्त्रीप्रति सादर बधाई र आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले स्थानीय तहदेखि प्रदेशस्तरसम्मको सहकार्य र सद्भाव अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0