राजेश निर्माणी / २ कात्तिक, रौतहट।
रौतहटको नगरपालिका–६ हर्षाहामा नेकपा (एकीकृत समाजवादी) निर्वाचन  क्षेत्र नम्बर–४ को आयोजनामा  शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. माधवकुमार नेपाल रहेका थिए।उक्त कार्यक्रममा केन्द्रीय उपमहासचिव क. रामकुमार भट्टराई, मधेस प्रदेशका नवनियुक्त मन्त्री क. कनिस पटेल, वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मी, केन्द्रीय सदस्य महेन्द्र चौलागाईं लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।सांस्कृतिक माहोलमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता, बुद्धिजीवी, युवाहरू र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका क्रममा मन्त्री क. कनिस पटेलले युवाहरूको प्रतिनिधित्व गर्दै सम्बोधन गरेका थिए।उनीले मधेस प्रदेशमा युवाहरूको सहभागिता र नेतृत्व दिनप्रतिदिन बढ्दै गएको बताउँदै, “अब युवाको ऊर्जा र दृष्टिकोणलाई व्यवहारिक नतिजामा रूपान्तरण गर्न सबैको सहकार्य अपरिहार्य छ,” भने।

त्यसैगरी प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो सम्बोधनमा ‘जेनेरेसन जेड (Gen Z)’ पुस्ताका जायज मागहरूलाई समर्थन गर्दै पार्टीले युवाको हकहित र आवाजलाई सधैं प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले जेन्जी पुस्ताको नाममा अपराधजन्य क्रियाकलापमा संलग्न हुनेहरूप्रति कडा आपत्ति जनाउँदै, “यस्तो अवस्थाको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहन्छ,” भने।

पूर्वप्रधानमन्त्री नेपालले राष्ट्र, राष्ट्रियता र जनजीविकाको पक्षमा नेकपा (एकीकृत समाजवादी) सधैं अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै पार्टीभित्र एकता र जनताप्रतिको उत्तरदायित्वलाई अझ सुदृढ बनाउन आग्रह गरे।“दीपावली र छठ पर्वले ल्याउने एकता, आत्मीयता र विश्वासको सन्देशले समाजमा शान्ति, समृद्धि र खुशी फैलाओस्,” उनले शुभकामना व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले दीपावली र छठ पर्वले ल्याउने उज्यालो र आस्थाले सम्पूर्ण परिवारमा सुख, शान्ति र समृद्धि भर्न सकोस् भन्ने सामूहिक शुभकामना व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0