{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

बारा — नेपाल पत्रकार महासंघ, बारा शाखाले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल सच्याउन माग गरेको छ।

महासंघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र महासंघको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र पठाएको जनाएको छ।

विज्ञप्तिमा प्रहरी प्रमुख तामाङका पछिल्ला गतिविधिले जिल्लामा कार्यरत पत्रकारहरूको मनोबल कमजोर पार्ने काम गरेको आरोप लगाइएको छ। पत्रकारहरूको अनुगमनका नाममा अनावश्यक निगरानी र मानसिक दवाव सिर्जना गरिएको उल्लेख गर्दै महासंघले त्यसप्रति चिन्ता जनाएको छ।

महासंघले तामाङमाथि शान्ति सुरक्षा कायम गर्नुभन्दा अवैध धन आर्जनमा संलग्न भएको आशंका व्यक्त गरेको छ। सो विषयमा समाचार लेख्ने पत्रकारहरूमाथि दुश्मनीपूर्ण व्यवहार गरेको आरोपसमेत लगाइएको छ।

विज्ञप्तिअनुसार, महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीमाथि प्रहरी प्रमुखले सामान्य जाहेरीको आधारमा मानसिक प्रताडना दिएको र जाहेरीकर्ताको पक्षमा वकालत गरेको उल्लेख छ। सो घटनाप्रति महासंघले गम्भीर आपत्ति जनाउँदै पत्रकार सुवेदीप्रति गरिएको व्यवहार प्रेस स्वतन्त्रताको मर्म विपरीत भएको टिप्पणी गरेको छ।

उक्त घटनाको विरोधस्वरूप बाराका पत्रकारहरूले ७०औं प्रहरी दिवसको विशेष कार्यक्रममा बहिष्कार गर्दै सांकेतिक विरोध प्रदर्शन गरेका थिए।

महासंघले दशैंअघि ‘तस्करसँगको मिलिभगत’ विषयमा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै प्रहरी प्रमुखले बदला लिने उद्देश्यले पत्रकारलाई दमन गरेको आरोपसमेत लगाएको छ। विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालमा गालीगलौजको बहाना बनाएर पत्रकारिताको मर्यादा मिच्ने, पत्रकारलाई डरत्रास दिने र उनीहरूको मनोबल तोड्ने गतिविधि अस्वीकार्य छन्।”

पत्रकारहरूको सुरक्षा, स्वतन्त्रता र निर्भीक वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग महासंघले गरेको छ।

विज्ञप्तिमा महासंघका सचिव पुष्पराज खतिवडाको हस्ताक्षर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0