{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

राजेश निर्माणी/कार्तिक १ गते

रौतहट/ दलित संघर्ष समिति रौतहटको आयोजनामा शुभ दीपावली र छठपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

रौतहटको गरुडा स्थित कलवार धर्मशालाको सभाहलमा आयोजित उक्त कार्यक्रममा दलित अधिकार, समान अवसर , सामाजिक न्याय र दलित शिक्षाका विषयमा गहन छलफल भएको थियो। कार्यक्रम दलित संघर्ष समिति रौतहटका अध्यक्ष सोनेलाल रामको अध्यक्षता तथा मानवअधिकारकर्मी धर्मेन्द्र पासवानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

वक्ताहरूले रौतहटमा अझै कायम रहेको जातीय विभेद, दलित समुदायमाथिको अन्याय, अत्याचार र यौनजन्य हिंसाका घटनाबारे गम्भीर चिन्ता व्यक्त गर्दै राज्यका निकाय र समाज दुवै तहमा प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।प्रमुख अतिथि पासवानले भने, “रौतहटका ग्रामीण बस्तीहरूमा दलित समुदाय अझै पानी, मन्दिर र सार्वजनिक स्थानमा विभेदको सामना गर्न बाध्य छन्। यो केवल कानुनी मुद्दा होइन, सामाजिक चेतनाको चुनौती हो,” उनले बताए।

विशिष्ट अतिथि मटुक पासवानले दलित अधिकार संविधानले सुनिश्चित गरे पनि व्यवहारमा राज्यको उदासीनता र समाजको मौनता नै विभेदको कारण रहेको टिप्पणी गरे। उनले भने, “अब दलित समुदाय आफैं एकजुट भई अधिकारका लागि निरन्तर दबाब सिर्जना गर्नुपर्ने बेला आएको छ।”

त्यसैगरी,राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष राजेश पासवान (निर्माणी)ले दलित मुद्दा मिडियामा पर्याप्त रूपमा नउठेको भन्दै दलित पत्रकारहरू स्वयं सक्रिय हुनुपर्नेमा जोड दिए। उनका अनुसार, “दलित समुदायका पीडा र आवाज जनतासम्म पुर्‍याउने काममा पत्रकारिताको भूमिका निर्णायक हुन्छ। अहिले पनि धेरै दलितहरू राज्यको पहुँचबाट टाढा छन्, त्यसैले पत्रकारहरूले विभेदका मुद्दामा संवेदनशील बन्नुपर्छ,” उनले जोड दिए।

कार्यक्रममा सहभागी दलित समुदाय भित्रका दलित जेन्जी पुस्ताका युवाहरूले दलित समुदायमा नयाँ सोच, नेतृत्व र उद्यमशीलताको आवश्यकता औंल्याउँदै “दलित जेन्जी युवा सञ्जाल–रौतहट” गठनको तयारी भइरहेको जानकारी दिए। उनीहरूले शिक्षा, रोजगारी र सामाजिक सशक्तीकरणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए।

अध्यक्ष सोनेलाल रामले समितिको तर्फबाट विगतमा जिल्लाका विभिन्न स्थानीय तहमा भएका दलित युवतीमाथिका बलात्कार, दुर्व्यवहार र विभेदका घटनाहरूबारे विवरण प्रस्तुत गर्दै दोषीमाथि कानुनी कारबाही र पीडितका लागि न्याय सुनिश्चित गर्न निरन्तर दबाब दिने बताए। उनका अनुसार, समितिले अब हरेक स्थानीय तहमा दलित अधिकार अनुगमन टोली गठन गर्ने तयारी गरेको छ।

उनले भने, “हामीले हरेक घटना निगरानी गर्छौं र तथ्यांक सार्वजनिक गर्छौं। दलित समुदायमाथि अन्याय हुनेहरूलाई अब सजायबाट उम्किन दिइने छैन।”

कार्यक्रमका वक्ताहरूले दलित समुदायभित्र शिक्षा, रोजगारी र राजनीतिक सहभागितामा अझै असमानता रहेको उल्लेख गर्दै समान अवसर र सम्मानजनक जीवनका लागि साझा प्रयास र एकता आवश्यक रहेको बताए।

शुभकामना आदानप्रदानसँगै समितिले दीपावली र छठपर्वले ल्याउने प्रकाशले समाजका विभेद र घृणाका अन्धकारलाई अन्त्य गर्ने प्रेरणा दिनुपर्ने सन्देशसमेत दिएको थियो।कार्यक्रमको अन्त्यमा सहभागीहरूले “दलित अधिकार, समान अवसर र सम्मानजनक जीवन” भन्ने प्रतिबद्धतासहित साझा घोषणा गर्दै कार्यक्रम सम्पन्न गरेका थिए।

कार्यक्रममा वरिष्ठ दलित अधिकारकर्मी मटुक पासवान, सामाजिक अभियन्ता रामाज्ञा राम, अधिवक्ता सोनेलाल पासवान, दलित अभियानकर्मी विवेक पासवान, मुसहर संघका अध्यक्ष विनोद माझी, राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष राजेश पासवान (निर्माणी), दलित अधिकारकर्मी उदयनारायण राम,स् स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा दलित समुदाय भित्रका दलित जेन्जी पुस्ताका युवाहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको सञ्चालन दलित अधिकारकर्मी अवधनारायण रामले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0