रौतहट, असोज २७ – रौतहट जिल्लाको सदरमुकाम गौरमा जमेको बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।गौर नगरपालिका–१, कानुपट्टीस्थित भित्री सडकखण्डमा पानी जमेको खाल्डोमा डुबेर राजदेवी नगरपालिका–८, लक्ष्मीपुर टोलका तीन बालिकाले ज्यान गुमाएका हुन्।

मृतकहरूमा १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र १५ वर्षीया मौसमी बैठा रहेका छन्। उनीहरूको शव अहिले प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार, सात जना बालिकाको समूह घाँस काट्न गौरतर्फ जाँदै थियो। बाटोमा जमेको पानी पार गर्ने क्रममा उनीहरू खाल्डोमा डुबेका थिए। तीमध्ये तीन जनाको मृत्यु भएको छ भने बाँकी चार जनालाई सकुशल उद्धार गरिएको छ।

उद्धारमा जिल्ला प्रहरी कार्यालय गौर, भन्सार सुरक्षा गार्ड, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली खटिएको थियो।

सकुशल उद्धार भएकामध्ये १३ वर्षीया मुस्कान कुमारी राम, १० वर्षीया चन्द्रमुखी कुमारी राम, १५ वर्षीया सुनिता कुमारी बैठा र १० वर्षीया मुस्कान कुमारी बैठा रहेका छन्।

स्थानीयवासीका अनुसार भित्री सडकमा लामो समयदेखि उचित ढल निकासको व्यवस्था नभएकाले वर्षा वा हल्का बाढीका बेला पानी जम्ने समस्या रहँदै आएको छ। यसरी पानी जम्ने खाल्डा स्थानीयका लागि जोखिमपूर्ण बन्दै गएको जनाइएको छ।

घटनाप्रति स्थानीयले गहिरो दुःख व्यक्त गर्दै बालबालिकाको सुरक्षाका लागि तत्काल स्थायी समाधान खोज्न माग गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0