{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

राजेश निर्माणी/असोज—२७ 
गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले आर्थिक अभावका कारण अस्पतालमा बन्धक बनेका एक विपन्न बिरामीलाई उद्धार गरेका छन्।

गरुडा–६ निवासी बनवारी माझीका छोरा शम्भु माझी करिब तीन महिनादेखि वीरगञ्जस्थित एल.एस. न्युरो अस्पतालमा उपचाररत थिए। गम्भीर दुर्घटनापछि उनको शरीरका विभिन्न भागको हड्डी भाँचिएको थियो। निरन्तर उपचारका क्रममा अस्पतालको बिल ३ लाख ५० हजार रुपैयाँभन्दा बढी पुगेपछि माझी परिवारले तीव्र आर्थिक संकट झेल्दै आएका थिए।

आर्थिक अभावका कारण अस्पतालले शम्भु माझीलाई छुटाउन अस्वीकार गरेपछि, परिवारले सहयोगका लागि वडा अध्यक्ष रामबाबु चौधरीमार्फत नगरप्रमुख जैसवाललाई गुहार गरेका थिए।

नगरप्रमुख जैसवालले आज (आईतबार) व्यक्तिगत पहलमा अस्पतालको सम्पूर्ण बिल भुक्तानी गरी शम्भु माझीलाई उद्धार गरेका हुन्। उद्धारपछि उनलाई गरुडा नगरपालिकाको एम्बुलेन्समार्फत सुरक्षित रूपमा घर ल्याइएको वडा अध्यक्ष चौधरीले जानकारी दिए।

“शम्भुको परिवार अत्यन्तै विपन्न छ। उपचार खर्च तिर्न नसक्दा उनी अस्पतालमा बन्धक जस्तै भएका थिए,” वडा अध्यक्ष चौधरीले भने, “मेयरज्यूले देखाउनुभएको मानवीय संवेदनशीलता साँच्चिकै प्रशंसनीय छ।”

नगरप्रमुख कन्थमणि जैसवालले भने, “जनताको दुःख–सुखमा साथ दिनु जनप्रतिनिधिको कर्तव्य हो। कुनै नागरिक आर्थिक कारणले उपचारबाट वञ्चित हुनु हुँदैन।” उनले भविष्यमा पनि नगरवासीको स्वास्थ्य र आपत्कालीन अवस्थाका लागि नगरपालिकाबाट यस्ता सहयोगका पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

शम्भु माझीको उद्धारसँगै स्थानीय बासिन्दाले मेयर जैसवालको मानवीय कदमको प्रशंसा गरेका छन्। गरुडाका सामाजिक अभियन्ता, जनप्रतिनिधि र सर्वसाधारणले यस्तो पहलले “जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई अझ मजबुत बनाएको” प्रतिक्रिया दिएका छन्।

वीरगञ्जको एल.एस. न्युरो अस्पतालका चिकित्सकका अनुसार, शम्भु माझीको स्वास्थ्य अहिले स्थिर रहेको र केही हप्ता घरमै विश्राम गरेपछि उनी पूर्ण रूपमा निको हुने सम्भावना छ।

गरुडा नगरपालिकाले विगतमा पनि विपन्न र असहाय नागरिकलाई उपचार खर्च, औषधि वितरण र एम्बुलेन्स सेवा मार्फत सहयोग गर्दै आएको छ। यस घटनाले नगरपालिकाको सामाजिक उत्तरदायित्वप्रति प्रतिवद्धताको झल्को दिएको स्थानीयवासीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0