

काठमाडौँ — जनमत पार्टीभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक असन्तुष्टिले अन्ततः पार्टी फुटको रूप लिएको छ। अध्यक्ष डा. सीके राउतको नेतृत्व शैलीप्रति असन्तुष्ट समूहले नयाँ राजनीतिक दल जनस्वराज पार्टी दर्ताका लागि निर्वाचन आयोगमा औपचारिक रूपमा निवेदन दर्ता गरेको छ।
नयाँ दल दर्ताको पहल जनमत पार्टीका तत्कालीन उपाध्यक्ष इन्जिनियर दीपक साहको नेतृत्वमा गरिएको हो। निर्वाचन आयोगका उप–न्यायाधिवक्ता विष्णु पौडेलका अनुसार साहको नेतृत्वमा जनमत पार्टीबाट अलग भई नयाँ दल दर्ताको प्रक्रिया अघि बढाइएको हो।
‘जनमत पार्टीबाट विभाजन भई नयाँ दल दर्ताका लागि निवेदन परेको छ,’ पौडेलले हिमालप्रेससँग भने, ‘दीपक साहको नेतृत्वमा आएको सो निवेदनमा जनमत पार्टीका २० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर रहेको जानकारी पाएका छौँ।’
निर्वाचन आयोगका अनुसार जनमत पार्टीका ५२ जना केन्द्रीय सदस्यमध्ये आवश्यक २० प्रतिशत सदस्यको हस्ताक्षरसहित निवेदन दर्ता गरिएको छ, तर सनाखत प्रक्रिया भने अझै बाँकी छ। पौडेलका भनाइमा, आयोगले छिट्टै सनाखतको मिति तोक्नेछ।
दल दर्ताको निवेदनमा प्रारम्भिक रूपमा १५ सदस्यीय कार्यसमिति प्रस्ताव गरिएको र पछि पदाधिकारी तथा सदस्य थप्ने तयारी रहेको जनस्वराज पार्टीका स्रोतले जनाएको छ। इन्जिनियर साहले पनि निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अघि बढाइसकिएको पुष्टि गर्दै भने, “हामीले नयाँ राजनीतिक यात्राको सुरुवात गरेका छौँ, आयोगको निर्णय पर्खिरहेका छौँ।”
यसअघि, जनमत पार्टीले पार्टी हितविपरीत काम गरेको भन्दै साहसहितका केही नेताहरूमाथि कारबाही गरेको थियो। उक्त कारबाहीपछि पार्टीमा असन्तुष्टि झनै चर्किएको थियो।
त्यसैगरी, अध्यक्ष राउतको नेतृत्वप्रति असहमति जनाउँदै केही साताअघि उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघ संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बमले पनि पार्टी परित्याग गरेका थिए।
यो घटनासँगै मधेसमा सक्रिय जनमत पार्टी भित्रको आन्तरिक कलह खुलेर बाहिर आएको छ। अब दीपक साहको नेतृत्वमा अघि बढ्ने जनस्वराज पार्टी र डा. राउतको जनमतबीच मधेसको राजनीतिक समीकरण कस्तो मोड लिन्छ भन्ने विषयमा सबैको नजर केन्द्रित भएको छ।






















