
आरके श्रीवास्तव,राैतहट,असाेज २२ गते ।
रौतहटको कटहरिया नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले लामो समयदेखि बक्यौता तलब तथा सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।
बुधबारदेखि सुरु गरिएको धर्नाको क्रममा नगरपालिकाको १ देखि ९ नम्बर वडासम्मका सम्पूर्ण कार्यालयहरूमा तालाबन्दी गरिएपछि नियमित प्रशासनिक कामकाज प्रभावित भएको छ ।
कटहरिया वडा नम्बर ८ का कर्मचारी मुकुन्द यादवले सबै वडाका कर्मचारीहरूले सामूहिक रूपमा तालाबन्दी गर्दै कार्यालयका साँचाे (चाबी) आ-आफ्नो जिम्मामा राखेको जानकारी दिएका छन् ।
यसैगरी, वडा नम्बर १ मा कार्यरत करार कर्मचारी मुकेश कुशवाहाले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
कर्मचारीहरूका अनुसार मंगलबार ९ वटै वडाका कर्मचारीहरूले संयुक्त रूपमा नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए, जसमा तलब तथा सेवा सुविधाको तुरुन्त भुक्तानीको माग गरिएको थियो । तर, नगरपालिकाले पटक–पटक आश्वासन मात्र दिँदै आएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
नगर प्रमुख अजय प्रकाश जयसवालले सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमार्फत तिहार अघि नै करार कर्मचारीको समस्या समाधान गरिने जानकारी दिएका छन् ।
उनले कर्मचारीहरूले मागेका आवश्यक कागजात बुझाएमा तलब उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइने बताएका छन् । साथै, देश अहिले विपदको अवस्थामा रहेको भन्दै वडा कार्यालयको तालाबन्दी खोल्न वडा अध्यक्षहरूलाई आग्रह गरेका छन् ।
वडा नम्बर ५ का अध्यक्ष सर्फलाल गुप्ताले सबै वडा कार्यालयमा तालाबन्दी भएको पुष्टि गर्दै कर्मचारीहरूले पाउने तलब तथा सेवा सुविधाको सिफारिस दिनु आफ्नो दायित्व भएको र यसबारे निर्णय लिन मेयर तथा प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार रहेको बताएका छन् ।
यसैबीच, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनरेश यादवले कार्यालय प्रमुख विदामा रहेकाले आइतबारपछि छलफल गरी समाधान खोजिने बताएका छन् । उनले कर्मचारीहरूले मागिएका कागजात बुझाएपछि तलब दिन तयार रहेको जनाए पनि कर्मचारीहरू भने यस्ता कागजात पटक–पटक बुझाइसक्दा पनि तलब नपाएको गुनासो गर्दै आएका छन् ।
आन्दोलन अन्तर्गत धर्ना कार्यक्रम अघि बढाइएको आन्दोलनरत कर्मचारीहरूले बताएका छन् ।
कटहरिया नगरपालिकामा देखिएको यो अवस्थाले स्थानीय सेवा प्रवाह प्रभावित भएको छ भने कर्मचारीहरूको समस्या समाधानमा नगरपालिकाको भूमिकामाथि प्रश्न उठेको छ ।
























