
राजेश निर्माणी / रौतहट – सुशिला कार्की नेतृत्वको नयाँ मन्त्रिपरिषद्मा रौतहटको गढीमाई नगरपालिका–९ निवासी डा. रामजी रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरिएको छ। उहाँको नाम सिफारिससँगै नेपालकै इतिहासमा पहिलोपटक मधेसी दलित समुदायबाट मन्त्री पदमा सिफारिस हुने गौरवपूर्ण अवसर प्राप्त भएको छ।
डा. राम एक दलित र सामान्य आर्थिक पृष्ठभूमिबाट उदाएका संघर्षशील व्यक्तित्व हुन्। विद्यार्थी जीवनदेखि नै उनले जातीय भेदभाव र छुवाछूतको पीडा भोग्दै समाजमा समानता र न्यायका पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्।
एमबीबीएस अध्ययनका क्रममा पनि उनले आर्थिक अभाव, सामाजिक अवरोध र कठिनाइका बाबजुद निरन्तर मेहनत गर्दै चिकित्सक बन्न सफल भएका थिए। डा. राम रौतहट जिल्लाकै चमार समुदायबाट पहिलो चिकित्सक हुन्, जसले आफ्नो जीवन संघर्ष र समर्पणको उदाहरण प्रस्तुत गरेका छन्।
गरिबी, जातीय विभेद र असमानतामाथि विजय हासिल गर्दै उनले असम्भव जस्तो लाग्ने सपना साकार पारेका छन्। एक समय बिहान काम नगरे बेलुकी भोकै सुत्ने अवस्था व्यहोरेका रामजी काठमाडौं आएर सुकुम्बासी बस्तीमा बस्दै शहरका गल्ली–गल्लीमा ग्यास चुलो र कुकर मर्मत गर्ने काम गर्थे। पढाइका लागि ट्युसन पढाएर आएको सानो आम्दानीले खर्च चलाउँथे। कहिलेकाहीँ उनले घरमै रोटी बनाएर होटलमा मागेर अचारसँग खान्थे।
२०७२ सालमा उनी सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि छनोट भए। तर, किष्ट मेडिकल कलेजले १५ लाख रुपैयाँ अतिरिक्त शुल्क माग्दा फेरि आर्थिक संकटमा परे। रकम तिर्न नसक्ने अवस्था आएपछि उनले सर्वोच्च अदालतमा न्यायका लागि लडे र अन्ततः अदालतको आदेशपछि भर्ना हुन पाउँदा चिकित्सक बन्ने सपना पूरा भयो।
एमबीबीएसको चौथो वर्षमा पनि शुल्क नतिरेको भन्दै परीक्षा हलबाट निकालिएको दिनमा उनी रोए, तर हार मानेनन्। कठिनाइका ती पलहरूलाई सहँदै उनले अध्ययन जारी राखे र अन्ततः २०७९ सालमा एमबीबीएस पूरा गर्दै नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरी देशकै गौरव बन्न सफल भए।
आज ती नै सुकुम्बासी बस्तीमा संघर्ष गर्दै ठूला सपना देख्ने युवा डा. रामजी रामलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिन लागिएको छ। डा. रामलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनु केवल व्यक्तिगत सफलता होइन,यो सम्पूर्ण मधेसी दलित र त्पीडित समुदायकालागि आशा,साहस र सम्मानको नयाँ अध्याय हो। उहाँको सोमबार शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको बताइएको छ।























