
सप्तरी, २१ असोज
सप्तरी जिल्लाको अग्निसाइर कृष्णवरन गाउँपालिकामा पछिल्लो समय एउटा अनौठो घटनाले स्थानीय राजनीतिमा बहस र आलोचनाको नयाँ तरंग ल्याएको छ। गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको खुट्टामा कार्यवाहक वडाध्यक्ष हरि खंगले मालिस गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
उक्त भिडियो असोज ५ गते खिचिएको बताइएको छ, जुन दिन गाउँसभा हुन नसक्ने अध्यक्ष चौधरीको अडानका कारण अन्य वडाध्यक्षहरू चिन्तित थिए। गाउँसभा नहुदा दशैंअघि जनप्रतिनिधी तथा कर्मचारीहरू तलब–भत्ताबाट बञ्चित हुने अवस्था आउन सक्ने देखेर अध्यक्षलाई मनाउनका लागि यस्तो कदम चालिएको खंगले बताएका छन्। उनका अनुसार वडाध्यक्षहरूको सामूहिक आग्रह र दबाबकै कारण उनले अध्यक्षको खुट्टा दबाएका थिए।
यसो भए तापनि यस घटनाले चौधरीको शासकीय शैलीप्रति गम्भीर प्रश्न उठाएको छ। पालिकामा तानाशाही प्रवृत्तिले काम भइरहेको भन्दै विभिन्न सामाजिक र राजनीतिक तहमा आलोचना बढेको छ।
उपाध्यक्ष कल्पना चौधरीसहित अन्य जनप्रतिनिधिहरूले भिडिओ सामाजिक सञ्जालबाट थाहा पाएको जनाएका छन्। उनीहरूले उक्त घटनालाई अस्वाभाविक र अपमानजनक व्यवहारका रूपमा लिएको बताइएको छ।
स्थानीय बासिन्दाहरूले समेत यस्तो घटनाले लोकतान्त्रिक अभ्यासको अपमान भएको बताएका छन्। पालिकाका आन्तरिक मामिलामा पारदर्शिता र आपसी सम्मान कायम राख्न माग गर्दै अब राजनीतिक दलहरू पनि प्रतिक्रिया दिन थाल्ने देखिन्छ।
यस घटनाले न केवल राजनीतिक वातावरणलाई तरंगित बनाएको छ, सँगसँगै जनप्रतिनिधिहरूको भूमिकाप्रति पनि पुनः सोच्न बाध्य बनाएको छ।























