
राजेश निर्माणी,रौतहट, असोज २१ —बाढीले प्रभावित बनाएको राजदेवी नगरपालिका–८ लक्ष्मीपुर वेलबिछवाका ७२ परिवारलाई नेपाल रेडक्रस सोसाइटी, रौतहट जिल्ला शाखाले राहत सामग्री वितरण गरेको छ।

बागमती, बकैया र झाझखोलामा पानीको सतह उच्च भएपछि सो क्षेत्रका दलित तथा अन्य विपन्न समुदाय प्रभावित भएका थिए।बाढीपीडितलाई राहतस्वरूप रेडक्रसले प्रत्येक परिवारलाई एक थान त्रिपाल, एक थान कम्बल, एक सेट हाईजिन किट तथा एक थान ढाकिएको बाल्टिन वितरण गरेको हो।

राहत वितरण कार्यलाई व्यवस्थित बनाउन नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति, मन्त्री, उपकोषाध्यक्ष, कार्यसमिति सदस्य, उपशाखाका स्वयंसेवकहरू तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। सुरक्षाकर्मीहरूको सहयोगमा राहत वितरण कार्य हिजो (असोज २० गते) सम्पन्न गरिएको हो।

स्थानीय बासिन्दाहरूले समयमै राहत उपलब्ध गराएकोमा रेडक्रसप्रति आभार व्यक्त गरेका छन्। बाढीका कारण विस्थापित भएका परिवारहरूलाई तत्काल सुरक्षित आवास र आधारभूत स्वास्थ्य सामग्री आवश्यक परेको स्थानीय स्रोतले जनाएका छन्।
नेपाल रेडक्रस सोसाइटीले विपद् व्यवस्थापन अन्तर्गत राहत तथा उद्धार कार्यलाई प्राथमिकतामा राखेर सहयोग गरिरहेको जनाएको छ।























