
रौतहट, असोज २१
कटहरिया नगरपालिकामा करार तथा ज्यालादारी रुपमा कार्यरत कर्मचारीहरूले लामो समयदेखि तलब र भत्ता नपाएको भन्दै आन्दोलनको चेतावनी दिएका छन्।
नगरपालिकाका १ देखि ९ नम्बर वडासम्म कार्यरत करार र ज्यालादारी कर्मचारीहरूले कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आफूहरूले धेरैपटक तलब माग्दा पनि नगरपालिकाले आश्वासन मात्रै दिँदै आएको गुनासो गरेका छन्। उनीहरूले अब बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको बताएका छन्।
ज्ञापनपत्रमा असोज २० गते बसेको बैठकको निर्णय उल्लेख गर्दै कर्मचारीहरूले शान्तिपूर्ण रुपमा आफ्नो धारणा सार्वजनिक गर्ने र आवश्यकता अनुसार वडा तथा नगर कार्यालय बन्द गर्ने कार्यक्रम अघि बढाउने जनाएका छन्।
यसै सन्दर्भमा, कटहरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनरेश यादवले प्रमुख गणेश नेपाली विदामा रहेका कारण निर्णय गर्न ढिलाइ भएको बताए। उनले आइतबार कार्यालय खुलेपछि तलब भुक्तानीसम्बन्धी निर्णय लिने बताए। साथै, आफू तलब भुक्तानीको पक्षमा रहेको स्पष्ट पार्दै कर्मचारीहरूको समस्यालाई चाँडो समाधान गर्नुपर्नेमा जोड दिएका छन्।ज्ञापनपत्र बुझाउनेमध्ये करार कर्मचारी मुकेश कुशवाहा, मुकुन्द यादवलगायत तीन दर्जनभन्दा बढी कर्मचारी सहभागी थिए।
कर्मचारीहरूले यदि तत्काल समाधान नभए आन्दोलन थप चर्किने चेतावनी दिएका छन्। यस विषयले स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको ध्यान खिच्ने अपेक्षा गरिएको छ।























