
राजेश निर्माणी/रौतहट/असोज २० गते
निरन्तरको भारी वर्षाका कारण रौतहटको जयनगर,मौलापुर,सोनारनिया,हरनहिया हुँदै कलैया र बिरगंज जोड्ने प्रमुख सडक बगेर गएपछी सो सडक खण्डको आवागमन ठप्प भएको छ।
स्थानीय बासिन्दाका अनुसार, जयनगरदेखि मौलापुर हुँदै बिरगंजसम्मको यो मार्ग दैनिक रूपमा अत्यधिक व्यस्त हुन्छ। तर अविरल वर्षाका कारण बाढीले कालोपत्रे सडक पूरै भत्काइदिँदा यात्रु र सवारी चालकहरू ठूलो समस्यामा परेका छन्। सडक बगिरहेको दृश्य स्थानीयहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
सडक अवरुद्ध भएपछि यात्रुहरू वैकल्पिक मार्गको खोजीमा छन्। यसै सन्दर्भमा बानका मधेस प्रदेश संयोजक तथा स्थानीय पत्रकार आर.सी. यादवले यात्रुलाई सोनारनिया हुँदै सागैया–पिपरिया मार्ग प्रयोग गरी हुलाकी सडकतर्फ जाने सुझाव दिएका छन्।
स्थानीय जनजीवनमा बाढीका कारण समस्या बढेसँगै सम्बन्धित निकायले तत्काल मर्मत र वैकल्पिक व्यवस्थाको पहल गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। बाढीले प्रभावित सडक खण्डको मर्मत कार्य यथासक्य छिटो सम्पन्न गर्न प्रशासन र स्थानीय समाजले संयुक्त पहल गर्नु पर्ने अवस्थामा छ।
























