

रौतहट/असोज-२०/ रौतहट जिल्लाको यमुनामाई गाउँपालिका–५, सुखदेव चौकमा अवस्थित नेपाल तराई सिटी अस्पतालले आफ्नो सेवा यात्राको पाँचौं वर्ष पूरा गर्दै छैठौं वर्षमा प्रवेश गरेको छ।
विगत पाँच वर्षदेखि सत्यनिष्ठा र सेवा भावनाका साथ २४ सै घण्टा स्वास्थ्य सेवामा समर्पित यस अस्पतालले स्थानीयवासीदेखि आसपासका जिल्लाका हजारौं बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ।
अस्पतालका सञ्चालक डा. मधुरेन्द्र यादवले छैठौं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै भविष्यमा स्वास्थ्य सेवा अझ प्रभावकारी र सर्वसुलभ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “जनताको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हो। हामी विगत जस्तै सत्यनिष्ठाका साथ भविष्यमा पनि थप गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित रहनेछौं।”
उनले अस्पतालमा अत्याधुनिक मेसिन र उपकरणको प्रयोगमार्फत एपेन्डिक्स, बच्चेदानी, बवासीर, भकन्दर, हर्निया, मधुमेह (चिनिरोग) लगायतका रोगहरूको सुरक्षित र भरपर्दो उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको जानकारी दिए। साथै उनले अति विपन्न तथा गरिब परिवारका बिरामीलाई विशेष छुटकासाथ उपचार गर्ने प्रचलन निरन्तर रहेको उल्लेख गरे।
अस्पताल प्रशासनका अनुसार दक्ष चिकित्सकहरूको टोली र आधुनिक प्रविधिको प्रयोगमार्फत बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन निरन्तर प्रयास भइरहेको छ। यस अवसरमा अस्पताल परिवारले सम्पूर्ण सेवाग्राही, शुभेच्छुक, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दालाई सु–स्वास्थ्य, दीर्घायु र प्रगतिका लागि शुभकामना व्यक्त गरेको छ।
नेपाल तराई सिटी अस्पतालले आगामी दिनमा विशेषज्ञ सेवा विस्तार, अत्याधुनिक प्रविधि थप गर्ने र समुदायमै पुगेर स्वास्थ्य सेवा पुर्याउने योजना अघि सारेको जनाएको छ।
वार्षिकोत्सव समारोहमा रौतहट जिल्लाका ख्यातिप्राप्त चिकित्सक, स्थानीय राजनीतिकर्मी, समाजसेवी, सञ्चारकर्मी र उल्लेख्य जनसमुदायको उत्साहजनक सहभागिता रहेको थियो।






















