
राजेश निर्माणी/रौतहट/असोज २० गते।
रौतहटमा अविरल वर्षासँगै आएको तीव्र हावाहुरीले ठूलो क्षति पुर्याएको छ। विशेषगरी वृन्दावन नगरपालिका–१ रमौली बैरिया स्थित चमारटोलका रुपलाल राम चमारको फुसको घर शनिबार राति पूर्णरूपमा भत्किएको हो।
वडाअध्यक्ष रामनाथ सहनीका अनुसार घर भत्किँदा रुपलालको लामो समयको मेहनतले जोडेका अन्नपात, लत्ता–कपडा तथा दैनिक प्रयोग हुने सम्पूर्ण घरेलु सामग्री नष्ट भएका छन्। “रुपलाल राम अति विपन्न परिवार हुन्, घर भत्किएपछि उनी परिवारसहित आफ्ना भाइको घरमा अस्थायी आश्रय लिन बाध्य भएका छन्,” सहनीले बताए।
स्थानीयवासीले घटनापछि तत्काल राहत तथा आवास पुनःनिर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूका अनुसार अहिले रुपलाल राम न घर न घाटका बनेका छन्। विपन्न परिवार भएकाले तत्काल खानेकुरा, लत्ताकपडा र बसोबासको व्यवस्था राज्य वा सरोकारवाला निकायले तत्काल गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासीले जोड दिएका छन्।
पीडित परिवारको अवस्था दयनीय भएको भन्दै गाउँलेहरूले सहानुभूतिसहित सहयोगको लागि सबैलाई अपील समेत गरेका छन्।























