
आर.के. श्रीवास्तव रौतहट, पुस १७
फतुवा विजयपुर नगरपालिकाले विद्युत् महसुलको बक्यौता पूर्ण रूपमा चुक्ता नभएसम्म नगरपालिकाबाट सञ्चालन हुने कुनै पनि योजनाको सम्झौता नगर्न निर्देशन दिएको छ।
नगर कार्यपालिकाको कार्यालय, लक्ष्मीनिया (दो), रौतहटबाट मिति २०८२ पुस १७ गते जारी गरिएको पत्रमार्फत प्रमुख प्रशासकीय अधिकृत मदन थापालाई यस्तो निर्देशन दिइएको हो। पत्रमा नगरपालिकाको विद्युत् महसुल लामो समयदेखि बक्यौता रहेको उल्लेख गर्दै उक्त बक्यौता पूर्ण रूपमा नतिरेसम्म हाललाई यस कार्यालयबाट कुनै पनि योजनासम्बन्धी सम्झौता प्रक्रिया अगाडि नबढाउन आग्रह गरिएको छ।
कार्यवाहक नगर प्रमुख अमवेया खातुनद्वारा हस्ताक्षरित पत्रमा नगरपालिकाको आर्थिक अनुशासन कायम गर्न तथा विद्युत् महसुलको बक्यौता चुक्ता गराउनका लागि यो निर्णय लिइएको स्पष्ट गरिएको छ।
नगरपालिकाको यस निर्णयका कारण चालु तथा आगामी योजनाका सम्झौताहरू अस्थायी रूपमा प्रभावित हुने देखिएको छ। नगर स्रोतका अनुसार विद्युत् महसुलको बक्यौता छिटो चुक्ता भएपछि मात्र योजना सम्झौता प्रक्रिया पुनः अघि बढाइनेछ।

























