

राजेश निर्माणी/मंसिर १७
रौतहट/नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै देशलाई स्थिर राजनीतिक मार्गदर्शन दिन लक्षित नेपाली कम्युनिष्ट पार्टी (एनसिपि) द्वारा मंसिर २० गते जनकपुरमा आयोजना हुन लागेको एकता सन्देश सभाको तयारीका लागि वृन्दावन नगरपालिकामा संयुक्त बैठक सम्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दुबैको सहभागितामा भएको नगर–स्तरिय बैठकले सभालाई ऐतिहासिक, भव्य र देशव्यापी प्रभाव पार्ने कार्यक्रमका रूपमा सफल बनाउन आवश्यक निर्णयहरू पारित गरेको छ।
बैठकमा सहभागी नेताहरूले देश गम्भीर राजनीतिक अनिश्चितता र आर्थिक अव्यवस्थाको दिशातर्फ धकेलिँदै गएको वर्तमान अवस्थाको आलोचना गर्दै, मुलुकलाई स्थिरताबाट टाढा लैजानुमा प्रमुख दुई दल—नेपाली कांग्रेस र एमाले—को कमजोर नेतृत्व जिम्मेवार रहेको टिप्पणी गरे। नेताहरूका अनुसार आन्तरिक सत्ता–संघर्ष, परस्पर आरोप–प्रत्यारोप र अवसरवादी सम्झौताले यी दुई दल जनतासँगै देशलाई पनि निराश बनाउँदै लगेका छन्।
उनका अनुसार वर्तमान परिस्थितिमा वैकल्पिक, इमानदार र जनमुखी कम्युनिष्ट नेतृत्व नै राष्ट्रिय आवश्यकता बनेको छ।वृन्दावन–१ स्थित खैराटोलमा मंगलबार विहान सम्पन्न भेलाले रौतहट जिल्लाबाट अधिकतम नेता तथा कार्यकर्तालाई सहभागी गराएर जनकपुरमा हुने एकता सन्देश सभालाई शक्ति प्रदर्शनको रूपमा सफल बनाउने संयुक्त प्रतिबद्धता व्यक्त गरेको छ। दुवै पार्टीका स्थानीय संरचनाले प्रचार–प्रसार, परिचालन, जनसम्पर्क र व्यवस्थापनका सम्बन्धमा समान सहमति बनाउँदै विस्तृत कार्ययोजना अघि बढाउने निर्णयसमेत पारित गरिएको हो।
बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा स्थायी कमिटी सदस्य कल्याणी खड्का, केन्द्रिय सदस्य महेन्द्र चौलागाईं, केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य देवेन्द्र पटेल, केन्द्रिय सल्लाहकार सदस्य तथा वृन्दावन नगरप्रमुख विनोद प्रसाद कुर्मी लगायतका वरिष्ठ नेताहरू उपस्थित थिए। त्यसैगरी प्रदेश कमिटी सदस्य रामप्रसाद कुर्मी, रामप्रवेश पटेल, देवेन्द्र यादव, एकराज झा, जिल्ला कमिटी उपाध्यक्ष जिन्दा देवी, मदन सापकोटा, पूर्व नेकपा–एस नगर अध्यक्ष सुरेन्द्र पटेल पनि सहभागी थिए।
बैठकमा वडाध्यक्षहरू—रामनाथ सहनी, सिकेन्द्र राउत कुर्मी, श्यामनन्दन यादव, फेकु दास, मजहर मन्सुर, जगर्नाथ पाल, रविन्द्र साह, परवेज आलम तथा स्थानीय कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैठकपछि जारी गरिएको जानकारीअनुसार सहभागीहरूले कम्युनिष्ट एकता अब केवल पार्टीगत आवश्यकता नभई देशको आर्थिक दिशा, सुशासन र स्थिरताको लागि अनिवार्य पूर्वशर्त बनेको धारणा राखेका थिए।
नेताहरूले जनकपुरमा हुने एकता सन्देश सभा कम्युनिष्ट आन्दोलनलाई पुनः राष्ट्रिय एजेण्डाको केन्द्रमा ल्याउने महत्वपूर्ण मोड हुने विश्वास व्यक्त गर्दै, दुवै पार्टी मिलेर यसको तयारीलाई अन्तिम चरणसम्म प्रभावकारी बनाइने स्पष्ट गरे।























