जयनारायण पासवान/मंसिर १३
बारा/ जिल्ला बारागढी गाउँपालिका–१ मा सनिवार पासवान समुदायका अगुवाहरू, समाजसेवी तथा प्रतिनिधिहरूको उपस्थितिमा एक महत्वपूर्ण वैचारिक तथा सामुदायिक बैठक सम्पन्न भएको छ।सो गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका सहभागीहरू समेटिएको उक्त बैठकमा समुदायसँग सम्बन्धित विभिन्न समसामयिक विषयमा गहन छलफल गरिएको थियो।

बैठकमा सामाजिक समृद्धि, शिक्षामा पहुँच, युवाको भूमिका, स्थानीय विकाससँग जोडिएका चुनौतीहरू, सरकारी सेवामा पहुँच, सामुदायिक एकता तथा संगठन सुदृढीकरण जस्ता मुख्य एजेन्डाहरू प्रस्तुत गरिए। सहभागीहरूले पासवान समुदायलाई थप संगठित, सशक्त र विकासमुखी बनाउन आवश्यक रणनीतिबारे आफ्ना धारणा तथा सुझावहरू व्यक्त गरे।

बैठकका अगुवाहरूले सामूहिक एकता र सहकार्यले समुदायको हक–अधिकार, पहिचान र सामाजिक उपस्थिति थप मजबुत हुने विश्वास व्यक्त गरे। साथै, यस्ता विचार–विमर्श तथा समन्वय कार्यक्रमहरूलाई आगामी दिनमा नियमित रूपमा सञ्चालन गर्ने निर्णय पनि बैठकबाट पारित गरिएको छ।

स्थानीय तहमा बसेको यो बैठकले पासवान समुदायको साझा आवाजलाई अझ स्पष्ट बनाउँदै भविष्यका योजनाहरूलाई मार्गदर्शन गर्ने महत्त्वपूर्ण भूमिकाका रूपमा उदाएको सहभागीहरूको ठम्याइ छ।

यसै अवसरमा समुदायको सर्वांगीण उन्नति तथा विभिन्न क्षेत्रमा पहुँच विस्तार गर्ने उद्देश्यसहित एक तदर्थ समिति गठन गरिएको छ। उक्त समितिको संयोजकका रूपमा ललन पासवानलाई जिम्मेवारी प्रदान गरिएको छ।

त्यससँगै बाबुलाल पासवान, गेना पासवान, शर्मिला पासवान, बदन पासवान, उमेश पासवान, झगरु पासवान, गुल्टेन पासवान, दुलार पासवान, शम्भु पासवान, बन्टु पासवान, तुल्सी पासवान, राजेश पासवान, आशा पासवान, त्रिभुवन पासवान तथा रामनरेश पासवानलगायतलाई सदस्यका रूपमा चयन गरिएको जानकारी सार्वजनिक गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0