
रौतहट, ११ मंसिर।
फतुवा–बिजयपुर नगरपालिकामा करार सेवाका कर्मचारीहरू म्याद नवीकरणको मागसहित १६ दिनदेखि धर्नामा बसेका छन्। करार अवधि नथपिएपछि सेवाप्रवाह प्रभावित बनेको भन्दै कर्मचारीहरू निरन्तर आन्दोलनमा छन्।
धर्ना स्थलमा आज आम जनता पार्टीका नगर अध्यक्ष तथा फतुवा विजयपुर नपाका मेयर प्रत्यासी विजय यादव ‘निर्विज’ उपस्थित भएर आन्दोलनमा ऐक्यबद्धता जनाए। उनले नगरपालिकाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै कमिसन प्रथाले जनगुनासो बढेको आरोप लगाए।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै ‘निर्विज’ले भने,“कमिसन बिना टेन्डर अघि नबढ्ने अवस्था छ, तर टेक्टर जस्ता काम सहजै सञ्चालन हुन्छन्। अदृश्य शक्ति हाबी भएकै कारण सेवाग्राही पीडित भएका छन्।”
उनले करार कर्मचारीको माग तुरुन्त सम्बोधन गर्न नगर प्रशासनलाई आग्रह गर्दै, राजनीतिक स्वार्थ र आन्तरिक शक्तिकेन्द्रको प्रभावले कार्यालय सञ्चालनमा समस्या आएको टिप्पणी गरे।
मेयर प्रत्यासी ‘निर्विज’ले नगरपालिकामा देखिएका बेथिति, कमिसन प्रथा र सेवा अवरुद्धबारे विस्तृत जानकारी सार्वजनिक गर्न निकट भविष्यमै पत्रकार सम्मेलन गर्ने घोषणा गरेका छन्। विद्युत, करलगायत विषयमा कार्यवाहक नगर प्रमुख अम्ब्या खातुनलाई ज्ञापनपत्र बुझाइसकिएको उनको भनाइ छ।
यता, धर्नामा बसेका करार कर्मचारीहरूले माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। लगातार बंदाबन्दीका कारण जन्म–मृत्यु दर्ता, नागरिकता प्रमाणीकरण, सामाजिक सुरक्षा भत्ता प्रक्रिया, नक्सा स्वीकृति र व्यवसाय दर्तासहितका दैनिक काम प्रभावित भएका छन्।
सेवा अवरुद्ध हुँदै जाँदा सेवाग्राहीहरू निराश भएर फर्किन बाध्य भएका छन्। स्थानीयवासीहरूले आन्दोलनरत कर्मचारी र नगर नेतृत्व दुवैलाई छिटो सहमतिमा पुगेर कार्यालय सञ्चालन सुचारु गर्न आग्रह गरेका छन्।
























