
रौतहट– चन्द्रपुर नगरपालिका–४, देउरालीचोकबाट सशस्त्र प्रहरी बलको टोलीले अत्याधुनिक हतियारसहित एक युवकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल इण्टेलिजेन्स ब्युरोबाट प्राप्त उच्च–स्तरीय सूचनाका आधारमा सञ्चालन गरिएको विशेष अपरेसनमा दुई थान विदेशी पेस्तोलसहित २२ वर्षीय सुमन आचार्य पक्राउ परेका हुन्।
पक्राउ परेका सुमन आचार्य बाराको निजगढ नगरपालिका–६ का बासिन्दा हुन्। उनलाई दिउँसो करिब ३:३० बजे सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको मधेश प्रदेश प्रमुख डिआईजी कृष्ण ढकालले पुष्टि गरेका छन्।
सन्तपुर सुरक्षा बेसका प्रमुख डिएस्पी राजेन्द्र बहादुर बस्नेतको नेतृत्वमा खटिएको १० सदस्यीय हाई–अलर्ट टोलीले सुमन आचार्यलाई शंका लागेर रोक्नासाथ झोला सर्च गर्दा विदेशी निर्माणका दुई पेस्तोल, गोली–बारुद र अन्य सम्बन्धित उपकरण फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
पक्राउपछि अनुसन्धान जारी राखिएको र आरोपीसँग सम्बन्धित थप विवरण सार्वजनिक गर्न बाँकी रहेको पनि प्रहरीले जनाएको छ।
























