राजेश निर्माणी /  कार्तिक ८

रौतहट। पारिवारिक सुख–समृद्धि र सन्तानको दीर्घायुका लागि श्रद्धापूर्वक मनाइने सूर्य उपासना पर्व छठको तयारी यस वर्ष रौतहट सहित सम्पूर्ण तराई–मधेसका जिल्लाहरूमा भव्य रूपमा गरिएको छ । हर्षोल्लासका साथ मनाइने यो पर्वको लागि नदी, पोखरी र जलाशयहरूमा घाट निर्माण तथा सजावटको काम अन्तिम चरणमा पुगेको छ ।

छठ पर्वको अवसरमा रौतहटका विभिन्न स्थानहरूमा घाट सजावट र सरसफाइ कार्य तीव्र गतिमा भइरहेको छ । कतिपय स्थानमा तयारी पूरा भइसकेको छ भने बाँकी स्थानहरूमा साँझसम्म सबै तयारी सम्पन्न गर्ने गरी काम भइरहेको स्थानीय समितिहरूले जनाएका छन् । बजारमा पनि पूजाका सामग्री खरिद गर्ने श्रद्धालुहरूको भीड बाक्लिँदै गएको छ । मिठाई, फलफूल, चिनी, मैदा, घिउ, दाल, सुपारी, उखु, डालिम, दीप र बाँसका डलियाजस्ता सामग्री किन्नेहरूको चहलपहलले बजारमा पर्वको रौनकता थपिएको छ ।

रौतहटको वृन्दावन नगरपालिकामा मात्र ३० वटा छठ घाट निर्माण गरिएको नगरप्रमुख विनोदप्रसाद कुर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये २० भन्दा बढी घाट निर्माण पूरा भइसकेको छ भने बाँकी घाटहरूमा अन्तिम तयारी जारी छ । त्यस्तै, गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहका अनुसार सदरमुकाम क्षेत्रमा रहेका छठ घाटहरू पनि निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

यो वर्ष शनिवारबाट छठ पर्व सुरु भइसकेको छ । चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व विधिवत् समापन गरिने परम्परा रहिआएको छ ।

पर्वको पहिलो दिन व्रतालुहरूले घरको सम्पूर्ण सरसफाइ गरी नदी वा पोखरीमा स्नान गरेर शरीर र मन शुद्ध बनाउँछन् । त्यस दिन अरबा–अरबाइन भोजन (कुम्भी भाँडामा पकाइएको चामल, दाल र लौकाको तरकारी) ग्रहण गरी व्रत सुरु गरिन्छ, जसलाई ‘नहाय–खाय’ भनिन्छ । दोस्रो दिन ‘खरना’ मा व्रतालुहरूले पूजाको लागि विशेष रूपमा चामल, दूध र सक्खर मिसाएर बनाइएको खीर र रोटी तयार गर्छन् । साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि ती प्रसाद ग्रहण गरी रातभर उपवास बस्ने परम्परा रहिआएको छ ।

तेस्रो दिन साँझ व्रतालुहरू नदी, पोखरी वा तलाउमा गई अस्ताउँदो सूर्यलाई दूध, जल, फलफूल, उखु र डलियामा राखिएका विभिन्न प्रसादसहित अर्घ्य अर्पण गर्छन् । घाटहरू दीप र माटोका दियोहरूले उज्यालो पारिन्छ र धार्मिक भजनसंगीत गुञ्जिन्छ । चौथो दिन बिहान व्रतालुहरू पुनः घाटमा गई उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठी माई र सूर्यदेवप्रति कृतज्ञता व्यक्त गर्छन् । त्यसपछि व्रत तोड्दै प्रसाद ग्रहण गर्ने परम्परा रहिआएको छ ।

श्रद्धा, भक्ति र शुद्धताको प्रतीक यो पर्वले अहिले रौतहट र सम्पूर्ण मधेस क्षेत्रमा धार्मिक उल्लास र सामूहिक एकताको वातावरण सृजना गरेको छ । छठ पर्वले पारिवारिक सम्बन्ध सुदृढ पार्ने मात्र होइन, प्रकृतिप्रतिको आस्था, भक्ति र अनुशासनको भावनालाई अझ सशक्त बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0