

राजेश निर्माणी / रौतहट, असोज २४ – जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम मधेस प्रदेश अधिवेशन यही असोज २७–२८ गते जनकपुरधाममा हुने तयारीका बीच रौतहटका युवा नेता राजकुमार दास तत्मा प्रदेश उपाध्यक्ष पदको दाबेदारका रूपमा अघि आएका छन्। रौतहट क्षेत्र नं ४(ख) बाट महाधिवेशन प्रतिनिधि चयन भएका उनले सामाजिक सञ्जालमार्फत पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई सहयोग र समर्थनको अपिल गरेका छन्।
दास विगत लामो समयदेखि पार्टीमै सक्रिय रहँदै आएका छन्। उनले दलित, गरिब, निमुखा र सीमान्तकृत वर्गका हकहितको लागि निरन्तर संघर्ष गर्दै संगठनमा “युवा र साहसी नेता”को पहिचान बनाएका छन्। निडर स्वभाव, प्रखर भाषणकला र संगठन निर्माण क्षमताका कारण उनी मधेसका युवाबीच लोकप्रिय छन्।
उनले अधिवेशनलाई ऐतिहासिक अवसरको रूपमा लिँदै भनेका छन् – “मेरो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा होइन, मधेसको वास्तविक मुद्दा—गरिबी निवारण, शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशिता—सबल बनाउनको लागि हो।” अधिवेशन प्रतिनिधि छनौट गरिएका पार्टी बैठकको सर्वसम्मत निर्णयका आधारमा उनले उपाध्यक्ष पदका लागि अघि बढ्ने योजना सार्वजनिक गरेका हुन्।
मधेस प्रदेशका विभिन्न जिल्लामा कार्यकर्ता र दलित समुदायले उनको उम्मेदवारीलाई सकारात्मक प्रतिक्रिया दिएका छन्। दासले पार्टी एकता, संगठन सुदृढीकरण र मधेशको अधिकार सुनिश्चित गर्न सबैलाई सक्रिय भूमिका लिन आग्रह गरेका छन्।























