

राजेश निर्माणी / रौतहट — असोज २५
रौतहटको गुजरा नगरपालिका–४ जंगलसैयामा गुजरा युथ टिमको आयोजनामा दीपावली, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम श्री गढीमाई महिला कृषक समूह गुजरा–४ र दलित नगर समन्वय समिति गुजरा नगरपालिकाको सहकार्यमा आयोजना गरिएको हो।
कार्यक्रमको उद्देश्य समुदायबीच धार्मिक सह–अस्तित्व, सामाजिक एकता र सद्भाव कायम गर्नका साथै महिला सशक्तीकरण, दलित उत्थान र युवा सहभागितामार्फत स्थानीय विकासमा योगदान पुर्याउने रहेको आयोजकले जनाएका छन्। साथै, स्थानीय उत्पादन र सहकारीमार्फत आत्मनिर्भर अर्थतन्त्रको सन्देश प्रवाह गर्दै समाजका सबै वर्ग र समुदायबीच आपसी सहकार्य र भाइचाराको भावना बलियो बनाउन कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गुजरा नगरपालिकाका नगरप्रमुख सन्तलाल चौधरीले देश अहिले कठिन र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै जनताको आमन्त्रणको कदर गर्दै कार्यक्रममा सहभागी भएको बताए। उनले गत भदौ २३ र २४ गते देशका लागि ज्यान अर्पण गरेका वीर सहिदहरूको बलिदानले लोकतन्त्र र जनअधिकार बलियो बनेको भन्दै सहिदहरूको योगदान सदैव स्मरणीय रहने बताए।
नगरप्रमुख चौधरीले जनताको विश्वासकै कारण दुई पटक नगरप्रमुख निर्वाचित भएको उल्लेख गर्दै दलित समुदायको शिक्षामा विशेष ध्यान दिएको बताए। उनका अनुसार नगरपालिकाले सयौं दलित विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गरी उनीहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने काम गर्दै आएको छ। उनले आगामी दिनमा पनि सामाजिक समानता र शैक्षिक सशक्तीकरणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
गढीमाई महिला कृषक समूहकी अध्यक्ष सीमा कुमारी चौधरीले महिलामार्फत आर्थिक स्वावलम्बन र आत्मनिर्भरता अभियान अघि बढाइरहेको बताइन्। उनले हालसम्म समूहमा ६० भन्दा बढी सदस्य संगठित भएको र तरकारी, दाल, फलफूल उत्पादनसँगै जैविक मल र बीउ वितरण अभियान सञ्चालन भइरहेको जानकारी दिइन्।
त्यस्तै, दलित नगर समन्वय समितिका अध्यक्ष विनोद माझीले दलित समुदाय अझै पनि सामाजिक र आर्थिक रूपमा पछाडि रहेको उल्लेख गर्दै शिक्षा र सीप विकासमार्फत परिवर्तन ल्याउने संकल्प व्यक्त गरे। उनले नगरपालिकालाई दलित युवाका लागि सीपमूलक तालिम र स्वरोजगार कार्यक्रम सञ्चालन गर्न आग्रह गरे।
गुजरा–३ भोलन्टार निवासी रौशन मुक्तानले भोलन्टारका बासिन्दा गुजरा नगरपालिकामै स्थायी बसोबासका लागि तयारीमा रहेको जानकारी दिँदै बसाइँसराइ प्रक्रियामा सहयोग गर्न नगर प्रमुखलाई आग्रह गरे। उनले भोलन्टारबाट उत्खनन हुने नदीजन्य पदार्थ गुजरा नगरपालिकाको आम्दानीमा योगदान पुर्याइरहेको उल्लेख गर्दै त्यहाँका नागरिकलाई पनि नगरभित्र समेट्नुपर्ने सुझाव दिए।
कार्यक्रमको अध्यक्षता दलित नगर समन्वय समितिका अध्यक्ष विनोद माझीले गरेका थिए भने प्रमुख अतिथि नगरप्रमुख सन्तलाल चौधरीका साथै विशिष्ट अतिथि गुजरा–१ का रामजित चौधरी,अतिथिहरुमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहटका अध्यक्ष राजेश निर्माणी सना किसान कृषि सहकारीका उपाध्यक्ष रामबिलास चौधरी, प्रवन्धक मुनीवर्त चौधरी, गढीमाई महिला कृषक समूहकी अध्यक्ष सीमा चौधरी, कोषाध्यक्ष संगिता राम, सचिव मंगिरा चौधरी, सह–सचिव रानी पासवान, घनश्याम माझी र वडा प्रत्यासी काजीमान माझी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य गुजरा युथ टिमका सचिव ऋषि राम खाँ थारुले राखेका थिए भने सञ्चालन गुजरा युथ टिमका कोषाध्यक्ष प्रमोद कुमार बिकले गरेका थिए।






















