
राजेश निर्माणी/रौतहट । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्य समिति रौतहटको आयोजनामा बिहीबार वृन्दावन नगरपालिका–८ बहुअरीस्थित दलित धर्मशालामा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मुख्य रूपमा दलित पत्रकार र अन्य पत्रकारहरूको हक–अधिकार, सामाजिक न्याय र समानताको विषयमा गम्भीर विचार-विमर्श भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सचिव सिकिन्द्र पासवान ले दलितमाथि हुने अपराध, अपहेलना र अन्यायविरुद्ध सख्त चेतावनी दिनुभएको थियो। उहाँले भन्नुभयो, “दलितहरूमाथि हुने अपराध, अपहेलना र अन्याय कुनै हालतमा सह्य गरिने छैन। हामीले पत्रकारितामार्फत दलित समुदायको आवाजलाई बुलन्द पार्नुपर्छ र समाजमा व्याप्त असमानता तथा अन्यायलाई उजागर गर्दै अधिकार सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो।”
पासवानले पत्रकारितालाई केवल समाचार दिन मात्र सीमित नभई सामाजिक चेतना जगाउने र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण साधन भएको बताए। उहाँले दलित पत्रकारहरूले निडर र निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिँदै भने, “हामीले पत्रकारितालाई हक–अधिकार र समानताको पक्षमा प्रयोग गर्नुपर्छ। अन्याय र अपहेलनको बिरुद्ध आवाज उठाउन डराउनु हुँदैन।”
कार्यक्रममा संघका अध्यक्ष राजेश पासवान (निर्माणी) ले संघको भूमिका प्रस्तुत गर्दै यसको महत्व र योगदानबारे सहभागीहरूलाई जानकारी गराउनुभयो। उहाँले संघले स्थानीय, प्रादेशिक र केन्द्रीय स्तरसम्म दलित समुदायको आवाजलाई सुरक्षित राख्न र उनीहरूको हक–अधिकारको सुनिश्चिततामा काम गरिरहेको बताए।
विशेष अतिथिहरूले पनि आफ्नो मन्तव्य राख्दै दलित पत्रकार र अन्य समुदायका पत्रकारको अधिकार सुनिश्चित गर्न र समान अवसरको लागि संघर्ष जारी राख्नुपर्नेमा जोड दिएका थिए। मधेस प्रदेशमा दलित समुदाय कुल जनसंख्याको करिब २० प्रतिशत भए पनि अझै विभेद, हिंसा र अपहेलनको सामना गर्नुपरेको बताइयो। सहभागीहरूले यो अवस्था परिवर्तन गर्न पत्रकारिताको भूमिका अत्यन्तै महत्वपूर्ण हुनेमा जोड दिए।
कार्यक्रममा विभिन्न बुद्धिजीवी, अगुवा व्यक्तित्व र पत्रकारहरू सहभागी भएका थिए। सहभागीहरूले विजयादशमी, दीपावली र छठ पर्वको अवसरमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरे।
कार्यक्रमको सञ्चालन संघका कोषाध्यक्ष प्रदीप दास र रमेश यादवले संयुक्त रुपमा गरेका थिए भने अध्यक्षता राजेश पासवान (निर्माणी) ले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले दलित पत्रकार र अन्य पत्रकारका हक–अधिकार सुनिश्चित गर्न संघको प्रयासको प्रशंसा गर्दै भविष्यमा अझ सक्रिय रहनुपर्ने आवश्यकता औंल्याए।
यस अवसरले दलित पत्रकार र अन्य पत्रकारलाई एकताबद्ध भएर समाजमा व्याप्त अन्याय, विभेद र अपहेलनको बिरुद्ध आवाज उठाउन, आफ्नो हक–अधिकार सुरक्षित गर्न र समाजमा समानता स्थापित गर्न प्रेरित गरेको कार्यक्रम आयोजकहरूले बताएका छन्।























