राजेश निर्माणी/रौतहट । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्य समिति रौतहटको आयोजनामा बिहीबार वृन्दावन नगरपालिका–८ बहुअरीस्थित दलित धर्मशालामा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले पत्रकारिता समाज परिवर्तनको मुख्य साधन हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमका विशिष्ट अतिथिका रूपमा बोल्दै दलित अगुवा तथा जसपाका नेता पुनित राम चमार ले मधेसमा सबैभन्दा बढी दलितहरू बसोबास गर्दा पनि त्यही समुदाय सबैभन्दा बढी अन्याय, अत्याचार, जातीय विभेद र बलात्कारको सिकार बन्नु परेको बताए। उनका अनुसार यसको मुख्य कारण वर्ण व्यवस्था र पूँजीवादी संरचना हो। उनले भने, “देशमा जसको सरकार भए पनि दलितहरू उपेक्षित भइरहेका छन्।”

पुनित राम चमारले भर्खरै सम्पन्न ‘जेनजी आन्दोलन’पछि देशको अवस्था र व्यवस्था परिवर्तन हुने आशा राखिएको भए पनि हालको सुशिला कार्की नेतृत्वको सरकारले दलितका लागि ठोस परिवर्तन गर्न नसकेको अनुभव व्यक्त गरे। उनले दलित समुदायलाई आफ्नो गौरवशाली इतिहास सम्झँदै उत्पीडनविरुद्ध एकजुट हुन आह्वान गरे। पासवान समुदाय राजा सलहेशका सन्तान, चमार समुदाय संत शिरोमणि रविदासका सन्तान र मुसहर समुदाय दिनाभदरीका सन्तान भएको स्मरण गर्दै उनले भने, “यदि हामीले आफ्नो पुर्खाको इतिहास बिर्स्यौं भने समाजमा केही गर्न सक्दैनौं। त्यसैले पुर्खा जस्तै अन्याय, अत्याचार, जातीय विभेद र बलात्कारविरुद्ध दृढ अडान राखेर लड्नुपर्छ।”

पुनित राम चमारले दलितमाथि हुने विभेद, अन्याय र अत्याचारको घटनामा तुरुन्तै पुगेर समस्या पहिचान गरी समाधान खोज्ने आफ्नो सक्रिय भूमिकाको उदाहरण पनि प्रस्तुत गरे। उनले भने, “मान्छे सबै पुजीले मात्रै समान हुँदैनन्, तर जात वा धर्मको आधारमा अन्याय र विभेद गर्नु कानुनी अपराध हो। यदि कसैले दलित वा अन्य समुदायमाथि विभेद गरे, आफुचुप लागेर न बस्ने र कानुनी उपचार को लागि अग्नुरसर भएर लडने समेत चेतावनी दिदै त्यसमा आवश्यक परे आफु सधै सहयोग गर्न तयार रहने बताए।”

मधेस प्रदेशमा दलित समुदाय कुल जनसंख्याको करिब २० प्रतिशत रहेको अनुमान छ, तर समाजमा अझै विभेद र असमानताको घटनाहरू उच्च दरमा देखिन्छ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालको भूमिकाको प्रशंसा गर्दै संघले दलित समुदायको आवाज बुलन्द पार्न र समान अधिकारका लागि निरन्तर योगदान दिइरहेको उल्लेख गरियो। सहभागीहरूले विजयादशमी, दीपावली र छठ पर्वको अवसरमा सबै नेपालीको सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहट शाखाका अध्यक्ष राजेश पासवान (निर्माणी) ले गरेका थिए भने सञ्चालन संघका कोषाध्यक्ष प्रदीप दास र वर्तमानकाल दैनिक पत्रिकाका सह सम्पादक रमेश यादवले संयुक्त रुपले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0