

रौतहट, वृन्दावन,असोज १५— नेकपा (एकीकृत समाजवादी) वृन्दावन नगर कमिटीको आयोजनामा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सम्पूर्ण नगरवासीसहित देश–विदेशमा रहेका नेपालीहरुको समृद्धिको कामना गर्दै हालै जेन्जि आन्दोलनका क्रममा २३ र २४ गते सहादत प्राप्त गरेका साथीभाइ, प्रहरी जवान र कैदीहरुको अनाहकमा ज्यान गुमाएका आत्माहरूलाई गहिरो श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।
कार्यक्रममा वक्ताहरुले अबको राजनीति जनभावना र युवा वर्गको चाहनालाई सम्मान गर्दै, भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउने र समाज, देश तथा जनताको हितमा समर्पित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनीहरूले “राजनीति नागरिकप्रति उत्तरदायी बन्नुपर्ने हो, नत्र जनताको अहित गर्ने कार्य कदापि सहनयोग्य हुँदैन” भन्दै समाजवादसहितको राजनीति गर्ने संकल्प व्यक्त गरे।
उक्त कार्यक्रमको सभाअध्यक्षता नेकपा (एस) वृन्दावन नगर कमिटीका अध्यक्ष सुरेन्द्र पटेलले गरेका थिए भने प्रमुख अतिथि नगर प्रमुख तथा नेकपा (एस) केन्द्रीय सल्लाहकार समिति सदस्य विनोद प्रसाद कुर्मी रहनुभयो। सो अवसरमा नेकपा (एस) जिल्ला कमिटी सदस्य तथा रौतहट क्षेत्र नम्बर–४ (ख) का प्रदेशसभा सदस्यका प्रत्यासी शेख सतार अहमद विशिष्ट अतिथि रहनुभएको थियो।
यसैगरी, वडा नम्बर–७ का अध्यक्ष जगरनाथ प्रसाद भेडिहर, वडा नम्बर–१ का अध्यक्ष रामनाथ सहनी, वडा नम्बर–९ का अध्यक्ष प्रवेज आलमसहित सम्पूर्ण वडाका कार्यपालिका सदस्य, नेकपा (एस) का जिल्ला तथा क्षेत्रीय कमिटी पदाधिकारी, नगर कमिटीका सदस्य तथा सयौं नेता–कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको र सो कार्यक्रमको सञ्चालन वृन्दावन नगर कमिटीका स.सचिव तथा कार्यपालिका सदस्य राजेश पासवान (निर्माणी)ले गरेको थियोे ।























