
सलहेश मिडिया डेस्क/असोज–९/ भारतको लद्दाख क्षेत्रमा युवापुस्ताद्वारा नेतृत्व गरिएको ‘जेनजी आन्दोलन’ सुरु भएको छ। आन्दोलनले लद्दाखलाई पूर्ण राज्यको दर्जा र भारतीय संविधानको छैटौँ अनुसूची अन्तर्गत विशेष अधिकार प्रदान गर्नुपर्ने माग उठाएको छ।
प्रख्यात शिक्षाविद् तथा पर्यावरणविद् सोनम वाङचुक नेतृत्वमा सुरुभएको आन्दोलनले, २०१९ मा जम्मू–कश्मीरको विशेष दर्जा हटाएर लद्दाखलाई केन्द्र शासित प्रदेशको रूपमा विभाजन गर्दा स्थानीय जनताको अधिकार र सांस्कृतिक पहिचानमा असर परेको बताइएको छ।
युवा पुस्ता र स्थानीय नेताहरूले यस विभाजनले स्थानीय प्रशासन, भूमि अधिकार, सांस्कृतिक संरक्षण र रोजगारीमा ठूलो प्रभाव परेको भन्दै आन्दोलन थालेका हुन्।
सोनम वाङचुकले १० सेप्टेम्बर २०२५ मा आमरण अनशन सुरु गरेका थिए। उनको उद्देश्य शान्तिपूर्ण माध्यमबाट केन्द्र सरकारसँग राज्यको दर्जा र छैटौँ अनुसूची अन्तर्गत अधिकार सुनिश्चित गर्ने विषयमा संवाद स्थापित गर्नु थियो।
तर हालैका दिनहरूमा आन्दोलन हिंसात्मक बनेको छ। २४ सेप्टेम्बर २०२५ मा लेह शहरमा प्रदर्शनकारीहरूले बीजेपी कार्यालयमा आगजनी गरेका छन् र सीआरपीएफ गाडीमा तोडफोड गरेका छन्। यस घटनामा चार जनाको मृत्यु भएको र करिब ७० जना घाइते भएका छन्।
घाइतेमध्ये आधा भन्दा बढी प्रहरी अधिकारी रहेको भारतीय समाचार माध्यमले जनाएको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पथराव भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन आँसु ग्यास र रबरको गोली प्रयोग गरेको थियो। स्थानीय प्रशासनले तत्कालै कर्फ्यू लागू गरेको छ र र भारतीय संविधानको धारा १४४ अन्तर्गत सार्वजनिक जमघटमा रोक लगाएको छ।
उता आन्दोलनकारीहरुले लद्दाखलाई पूर्ण राज्यको दर्जा प्रदान गर्ने,संविधानको छैटौँ अनुसूची अन्तर्गत लद्दाखलाई समावेश गर्ने र भूमि अधिकार, स्थानीय रोजगारी, भाषा र सांस्कृतिक संरक्षण सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।
आन्दोलनको संभावित घटनाक्रम रोक्न र वातावरण सहज बानाउन केन्द्र सरकारले अक्टोबर ६, २०२५ मा उच्चस्तरीय वार्ता बोलाएको छ। यसमा आन्दोलनकारी नेताहरू र सरकारी प्रतिनिधिहरूबीच छलफल हुने अपेक्षा गरिएको छ।
सोनम वाङचुकले अनशन तोडेका छन् र युवाहरूसँग शान्तिपूर्ण र संवादमार्गमा फर्किन आह्वान गरेका छन्। उनले भनेका छन्, “हिंसा हाम्रो मुद्दाको लागि घातक छ। समाधान केवल संवाद र शान्तिपूर्ण मार्गबाटै सम्भव छ। हामीले आफ्नो कारण र अधिकारको लागि विवेकपूर्ण मार्ग अपनाउनुपर्छ।”
जेनजी आन्दोलनले लद्दाखको राजनीतिक परिप्रेक्ष्यलाई नया मोड दिएको छ। यसले स्थानीय अधिकार, संस्कृति, भाषा र रोजगारी जस्ता संवेदनशील विषयलाई राष्ट्रिय ध्यानाकर्षणमा ल्याएको छ। आन्दोलनले युवा नेतृत्वको भूमिका र जनताको असन्तुष्टिलाई पनि स्पष्ट रूपमा उजागर गरेको छ।























