

रौतहट, चैत १६ — रौतहटको वृन्दावन नगरपालिका–८, बहुअरीस्थित दलित धर्मशालामा सोमबार सञ्चालन गरिएको एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गत,निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल, निजगढ–९, बाराको प्राविधिक सहयोग तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति रौतहटको आयोजनामा शिविर सञ्चालन गरिएको हो।
शिविरमा २२१ जना सेवाग्राहीले आँखा परीक्षण तथा परामर्श सेवा लिएका थिए। तीमध्ये ३५ जनामा मोतिबिन्दु पहिचान भएको आयोजकले जनाएको छ। पहिचान भएका बिरामीमध्ये छनोट गरिएका बिरामीहरूको निःशुल्क शल्यक्रिया (अपरेशन) मंगलबार चैत १७ गते निजगढस्थित तिलगंगा सामुदायिक आँखा अस्पतालमा गरिने व्यवस्था मिलाइएको छ।
अपरेशनहुने मोतिबिन्दुका बिरामीका लागि अपरेशन, औषधि, चस्मा तथा अस्पतालसम्म आउने–जाने व्यवस्थासहित आवश्यक अन्य सेवाहरू निःशुल्क उपलब्ध गराइने जनाइएको छ। यद्यपि बिरामीहरूले खानपानको व्यवस्था भने स्वयं गर्नुपर्नेछ।
कार्यक्रम राष्ट्रिय दलित पत्रकार संघ नेपाल, रौतहटका अध्यक्ष राजेश पासवान (निर्माणी) को विशेष पहलमा सम्पन्न भएको हो। शिविरमा तिलगंगा सामुदायिक आँखा अस्पताल, निजगढका अप्टोमेट्रिस्ट डा. दीपक सुबेदी, वडा अध्यक्ष रविन्द्र प्रसाद साह, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
अध्यक्ष पासवानका अनुसार शिविरमार्फत मोतिबिन्दुका बिरामीहरूको पहिचान गरी निःशुल्क उपचारको व्यवस्था गरिएको हो। यस्ता कार्यक्रमले स्थानीय समुदायमा आँखा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि हुनुका साथै उपचार सेवामा पहुँच विस्तार भएको उनले बताए।
स्थानीय तहका जनप्रतिनिधिहरूले यस्ता स्वास्थ्यसम्बन्धी सेवामूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।























