राजेश निर्माणी

रौतहट,पुस २२ — बृन्दावन नगरपालिकामा पछिल्लो समय विकास निर्माणका काम तीव्र गतिमा अघि बढिरहेका छन्। यसैक्रममा बृन्दावन नगरपालिका–८ अन्तर्गत आकडपाथड क्षेत्रमा निर्माणको अन्तिम चरणमा पुगेको शुद्ध खानेपानी ओभरहेड ट्यांकी परियोजनाका लागि आवश्यक डिप बोरिङ कार्य अघि बढाइएको छ।

नगरपालिकाका अनुसार गत मंगलबार उक्त डिप बोरिङ निर्माण कार्यको शिलान्यास गरिएको थियो भने हाल काम अन्तिम चरणमा पुगेको छ। परियोजनाको स्थलगत अनुगमनका क्रममा नगर प्रमुख विनोद प्रसाद कुर्मीले डिप बोरिङ कार्य उल्लेखनीय प्रगतिसहित अगाडि बढिरहेको जानकारी दिए। उनका अनुसार हाल डिप बोरिङमा पाइप जडानको काम भइरहेको छ, जुन छिट्टै सम्पन्न गरिनेछ।

नगर प्रमुख कुर्मीले विकास निर्माणका विषयमा नगरपालिकाले कुनै पनि किसिमको दबाब, सम्झौता वा व्यक्तिगत स्वार्थलाई स्थान नदिने स्पष्ट पारे। “हामी विकासको मार्गमा अघि बढिसकेका छौँ। नगरवासीलाई आधारभूत सेवा उपलब्ध गराउने विषयमा कुनै सम्झौता हुँदैन,” उनले भने।

डिप बोरिङको सम्पूर्ण काम सम्पन्न भएपछि शुद्ध खानेपानी ओभरहेड ट्यांकीसँग पाइप जडान गरी नियमित रूपमा स्वच्छ खानेपानी वितरण गरिने नगरपालिकाले जनाएको छ। यस आयोजनाको सम्पन्नतासँगै वडा नम्बर ८ सहित आसपासका बासिन्दाले लामो समयदेखि भोग्दै आएको खानेपानी समस्या समाधान हुने विश्वास गरिएको छ।

स्थानीयवासीहरूले नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको खानेपानी परियोजनाले जनजीवन सहज हुने अपेक्षा व्यक्त गरेका छन्। नगरपालिकाले आगामी दिनहरूमा पनि यस्तै विकासमुखी योजनाहरूलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0