राजेश निर्माणी / रौतहट, कार्तिक ८
मधेशको सांस्कृतिक तथा धार्मिक जीवनसँग गहिरो सम्बन्ध राख्ने लोकआस्थाको महान पर्व दिपावली र छठको अवसरमा वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले व्रतालु महिलामाझ साडी वितरण गरेका छन्।

मेयर कुर्मीले वडा नं.–८ र ९ का गरी करिब ७५१ जना व्रतालु महिलालाई साडी वितरण गर्दै छठ पर्वले समाजमा आपसी सद्भाव, एकता र धार्मिक आस्थालाई सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले आगामी वर्षहरूमा पनि यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तर प्राथमिकता दिने प्रतिबद्धता जनाए।

नगर प्रमुख कुर्मीले साडी वितरण गर्दै वडा नं.–८ र ९ मा आज भएको वितरण कार्यक्रमपछि भोलि आइतबार अन्य वडाहरूमा पनि साडी वितरण हुने जानकारी दिए।

कार्यक्रममा वडा नं.–८ का वडाध्यक्ष रवीन्द्र प्रसाद साह, वडा नं.–९ का वडाध्यक्ष प्रवेज आलम, कार्यपालिका सदस्य राजेश पासवान (निर्माणी), लालपरी देवी, वडा सदस्य श्रीनन्दन यादव, समाजसेवी हरिनारायण पटेल, प्रेम पटेल, राम कल्याण यादव, राजेन्द्र पटेल, धिरेन्द्र पटेल, समसुल हक लगायतका स्थानीय जनप्रतिनिधि, समाजसेवी, महिला व्रतालु र धार्मिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

व्रतालु महिलाहरूले नगर प्रमुखको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता पहलहरूले समुदायमा सहअस्तित्व र आपसी सहयोगको भावना अझ सुदृढ भएको बताएका थिए।

मधेश प्रदेशमा मनाइने छठ पर्वलाई शुद्धता, समर्पण र सामाजिक एकताको प्रतीकका रूपमा लिइन्छ। यस पर्वमा व्रतालुहरूले सूर्यदेव र छठमाईको आराधना गर्दै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहिआएको छ।

मेयर कुर्मीले साडी वितरणलाई धार्मिक आस्था र सामाजिक उत्तरदायित्वको संयोजनका रूपमा लिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0